Mero Chitwan
‘लाइटिङ’ प्रणालीमा समस्या आउँदा हवाई उडान प्रभावित,  ४ घन्टापछि खुल्यो विमानस्थल

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’ प्रणालीमा समस्या आउँदा आज ४ घन्टा उडान र अवतरण प्रभावित भयो । साँझ ५ः३० बजेदेखि बन्द भएको विमानस्थल शनिबार राति करिब चार घण्टापछि राति ९:३६ बजे पुनः खुलेको हो ।
 
  विमानस्थलका निर्देशक एवं प्रवक्ता रेञ्जी शेर्पाका अनुसार आज साँझ ५ः३० बजेदेखि लाइटिङमा समस्या आउँदा केही जहाज आकाशमा ‘होल्ड’ भए भने केही गन्तव्यबाट आएका जहाज अन्यत्र पठाइएको छ । उनले आन्तरिक उडानका जहाजलाई विमानस्थलमा रोकिएको जनाउँदै अन्तरराष्ट्रियतर्फका केही जहाज आकाशमा होल्ड गरिएको बताए । 

आन्तरिक उडानबाट काठमाडौँ आउने जहाज भने सम्बन्धित गन्तव्यमा नै रोकिएको प्रवक्ता शेर्पाले उल्लेख गर्नुभयो । रातिको समयमा विमानस्थलको धावनमार्गमा जहाज उडान तथा अवतरणका लागि उज्यालो बनाउने बत्तीलाई ‘एयर फिल्ड लाइटिङ’ भनिन्छ । 

विमानस्थल पुनः सञ्चालनमा आएसँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू क्रमिक रूपमा पुनः सुरु भएका छन् ।

प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०८२  २१:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update