काभ्रे– सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आफ्नै मुद्रणबाट छाप्न सुरू गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले शुक्रबारदेखि नयाँ लाइसेन्स छाप्न सुरू गरेको हो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले काभ्रेको बनेपामा रहेको केन्द्रको प्रिन्टिङ मेसिनमा बटन थिचेर सवारी चालक अनुमतिपत्र छपाइको शुभारम्भ गरे।
मन्त्री खरेलले कानुनी उल्झन र विविध कठिनाइकाबाबजुद पनि अत्यावश्यक प्रबन्ध मिलाएर लाइसेन्स छपाईको काम सुरू गरिएको बताए। उनले वर्षौदेखि थन्किएर अलपत्र भएका धुलाम्मे मेसिन र पार्टपूर्जाको धुलो पन्छाएर छपाइ गरिएको उल्लेख गरे।
“वर्षौदेखि सुरक्षण मुद्रण केन्द्र अन्तर्गतका मेसिनहरू यत्तिकै थन्किएका थिए। मेसिन र पार्टपूर्जा सबै धुलाम्मे भएका थिए। ठाउँ नै खण्डहर जस्तो भएको थियो। धुलो टकटक्याएर छपाइको काम थालेका हौँ,” मन्त्री खरेलले भने । उनका अनुसार केन्द्रका मेसिनबाट राष्ट्रिय परिचयपत्र, राहदानी, लालपूर्जा, विभिन्न स्टीकर, हुलाक टिकटलगायत थुप्रै काम गर्न सकिने भएपनि लामो समयसम्म छपाइको काम हुन सकेको थिएन।
“अहिले हामीले निकै मेहेनत गरेर सरकारी प्रेसबाटै लाइसेन्छ छपाइ सुरू गरेका छौ”,सञ्चारमन्त्री खरेलले भने,“ २८ लाख ड्राइभिङ लाइसेन्स छाप्नुपर्ने अवस्था छ। चिट कागजमा मात्रै सीमित रहेको अवस्यामा यहाँबाट छपाइ सुरू गरेर जनतलाई सुशासनको प्रत्याभूति दिने हाम्रो सोच रहेको छ।”
लाइसेन्स, राहदानी, राष्ट्रिय परिचयपत्रलगायत छपाइ सधै विदेशी कम्पनीलाई ठेक्का दिएर रकम बाहिर जाने अवस्था र सुरक्षाको सवाल पनि उठ्ने गरेको थियो। सञ्चारमन्त्री खरेलले पूर्वाधार र स्रोत साधन भएर पनि छपाइको काम गर्न नसकिएको अवस्थामा नीतिगत सुधार गरेर छपाइ सुरू गरिएको बताए।
सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले विभिन्न कानूनी उल्झन र प्राविधिक जटिलता समाधान गरेर छपाइको काम सुरू गरिएको जानकारी दिए। पहिलो चरणमा १२ लाख प्रति छपाइको सम्झौता भएअनुरूप आजबाट काम सुरू गरिएको हो।
सुरूमा दैनिक पाँचसय र यसको मात्रा बढाउँदै लगिने केन्द्रले जनाएको छ। काडमा आधारित छपाइ सुरू गरिएको हो। निर्माणाधीन भवनबाट कागजी छपाइको काम अबको छ महिना भित्र सुरू गरिनेछ। कार्यकारी निर्देशक ढुंगानाका अनुसार आजकै मितिदेखि नागरिकता, अन्तशुल्क स्टिकर, हुलाक टिकट, लालपूर्जा र भिसा स्टिकर छपाइ गर्न सकिनेछ। सुरक्षण मुद्रण केन्द्रमा हालसम्म झन्डै रू तीन अर्ब लगानी भएको छ।

