Mero Chitwan
छ लाख स्मार्ट लाइसेन्स आइपुग्यो, वैदेशिक रोजगारीमा जानेले ३ दिनभित्रै पाउने

काठमाडौँ : यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) का लागि सम्झौता भएको १२ लाख कार्डमध्ये छ लाख नेपाल आइपुगेको जनाएको छ ।

विभागका अनुसार बाँकी छ लाख पनि सम्झौता भएअनुसार ४५ दिनभित्र नेपाल आइपुग्नेछ । विभागका निर्देशक एवं प्रवक्ता ईश्वरीदत्त पनेरुका अनुसार गत आर्थिक वर्ष २०७९ मा जर्मनको मूलवर्ग कम्पनीसँग १२ लाख कार्ड छपाइका लागि सम्झौता गरिएको थियो ।

सम्झौताअनुरुप पहिलो चरणमा सन् २०२४ को जनवरी ६ मा छ लाख कार्ड त्रिभुवन विमानस्थल आइपुगेको उनले जानकारी दिए। विमानस्थल आइपुगेका कार्डलाई ‘क्लियर’ गर्न नेपाल राष्ट्र बैंकले ‘डेलिभरी अर्डर’ दिनुपर्ने हुन्छ । बैंकको सबै प्रक्रिया पु¥याएपछि आएको कार्डको ल्याब टेष्ट गराइन्छ । उनले भने, “हामीले सम्झौता गर्दा खोजेको गुणस्तर छ कि छैन भनेर जाँच्न नेपाल आइपुगेको कार्डको ल्याब टेष्ट गर्छौँ र त्यसको रिपोर्ट आइसकेपछि मात्र वितरण प्रक्रिया सुरु गर्छौँ ।

” विभागले कार्ड पाउने वित्तिकै नियमित छपाइको सुरुआत हुने निर्देशक पनेरुले प्रतिबद्धता जनाए । उनले बाँकी रहेको छ लाख कार्ड पनि ४५ दिनभित्रमा सम्झौता भएको कम्पनीबाट आइपुग्ने जानकारी दिए ।

वैदेशिक रोजगारमा जानेलाई तीन दिनभित्र लाइसेन्स

निर्देशक पनेरुले सेवाग्राहीले वर्षौँसम्म कार्डका लागि कुर्नुपर्ने समस्या रहेको स्वीकार गर्नुभयो । “यो विशेष प्रकृतिको कार्ड हुने भएकाले यसको खरिद प्रक्रिया अलिकति लामो हुन्छ । जसले गर्दा सेवाग्राहीलाई समयमा कार्ड वितरण गर्न सकिएको छैन”, उनले भने, “वैदेशिक रोजगारमा जानेलाई मर्का नपरोस् भनेर फास्ट प्रिन्टिङको व्यवस्था गरेका छौँ ।” विभागले जारी गरेको इमेलमा जानकारी आएपछि वैदेशिक रोजगारमा जानेलाई तीन दिनभित्रमा लाइसेन्स वितरण गरिरहेको उनले जानकारी दिए ।

 हाल सबभन्दा बढी करिब ६० प्रतिशत माग बागमती र त्यसपछि क्रमशः मधेस र गण्डकी रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update