Mero Chitwan
ज्येष्ठ नागरिकका लागि हवाई टिकटमा ८० प्रतिशतसम्म छुटको व्यवस्था

काठमाडौँ-आज नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई यात्रा गर्ने ज्येष्ठ नागरिकका लागि ८० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । आज प्राधिकरणमा सम्पन्न बैठकले ७० वर्ष र सोभन्दा माथिका नागरिकलाई हवाई टिकटमा ५० देखि ८० प्रतिशतसम्मको छुट प्रदान गर्ने निर्णय गरेको हो ।

  नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक एवं इञ्जिनियर प्रदीप अधिकारीको अध्यक्षतामा वायुसेवा सञ्चालक सङ्घका अध्यक्ष र नेपालका आन्तरिक वायुसेवा सञ्चालक कम्पनीका प्रतिनिधिबीच भएको बैठकले उक्त निर्णय गरेको हो ।
    
  बैठकले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सङ्घीय सरकारद्वारा तोकिएको अधिकतम हवाई भाडादरमा सम्पूर्ण आन्तरिक हवाइमार्गमा ५० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको महानिर्देशक अधिकारीले जानकारी दिनुभयो ।

  उहाँका अनुसार ७५ वर्षभन्दा माथिका नागरिकलाई ७० प्रतिशत र ८० वर्षभन्दा माथिका नागरिकलाई ८० प्रतिशतसम्म छुट प्रदान गरिनेछ । जुनसुकै उमेर समूहका फरक क्षमता भएका यात्रुको हकमा कम्तीमा ५० प्रतिशत छुट सुनिश्चित गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

  आज गरिएको उक्त निर्णयले हवाई यात्रामा समावेशीता र पहुँचको प्रत्याभूति गर्ने विश्वास गरिएको महानिर्देशक अधिकारीले उल्लेख गर्नुभयो । उहाँका अनुसार बैठकमा सहभागी वायुसेवा कम्पनीलाई उक्त निर्णयहरू आजैदेखि लागू गर्न निर्देशन दिइएको छ । सोहीअनुसार सम्बन्धित सबै आन्तरिक वायुसेवा कम्पनीले तत्काल निर्णय कार्यान्वयनमा लैजानुपर्ने प्राधिकरणले जनाएको छ । 

  यस योजनाले ज्येष्ठ नागरिकको हवाई यात्रालाई सहज, सुलभ र किफायती बनाउने विश्वास प्राधिकरणले लिएको छ । विशेषगरी दुर्गम भेगमा रहेका ज्येष्ठ नागरिकका लागि यो निर्णय प्रभावकारी हुने महानिर्देशक अधिकारीले विश्वास व्यक्त गर्नुभयो । 

  उहाँले भन्नुभयो, “नेपाल नागरिक उड्डयन प्राधिकरणले ज्येष्ठ नागरिक, फरक क्षमता भएका नागरिक तथा अन्य यात्रुको हितमा आगामी दिनमा अझ धेरै जनमुखी नीति कार्यान्वयन गर्दै लैजानेछ ।”

प्रकाशित मिति: आइतबार, कात्तिक २, २०८२  २२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update