
काठमाडौँ — नेपाली र नेपाल भाषाका प्रतिष्ठित गायक तथा संगीतकार योगेश वैद्यको ७७ वर्षको उमेरमा निधन भएको छ । उनको बिहीबार राति साढे १२ बजे उनको निधन भएको हो ।
गायक वैद्य ७७ वर्षका थिए । भर्खरै मात्रै उनलाई गंकी बसुन्धरा प्रतिष्ठानबाट प्रतिष्ठित ‘धुंस्वां साय्मि सिरपाः’ प्रदान गरिएको थियो । नेपालीमा ‘सपना भुलाई सारा आँसु लिएर जाउ’, ‘मेरो आँसुमा नहाँसे’ र ‘नेपाल मेरो उपहार भो’ लोकप्रिय छन् । यस्तै नेपाल भाषामा ‘जय नमो सिरि बुद्ध भगवान’ र ‘जिमि यःम्ह थौ जिथाय् वइ’ लोकप्रिय रहेका छन् ।
१२ वर्ष ९ महिनामै एसएलसी गरी त्रिचन्द्र कलेजबाट बीएस्सी डिग्री पाएका योगेश थाहै नपाई रेडियो नेपाल पुगेका थिए । इन्द्रनारायण मानन्धरले मोटरसाइकलमा रेडियो नेपाल पुर्याए । रेडियोमा निर्देशक भोग्यप्रसाद शाहलगायत थुप्रै कलाकारसामु उनले दुई दर्जन गीत सुनाए । मोहम्मद रफी, तलत महमुदलगायतको । सबैले तारिफ गरे । उनको स्वरपरीक्षा त्यही भयो । किरण खरेलको शब्द र नातिकाजीको संगीतमा योगेशको पहिलो गीत रेकर्ड भयो, ‘कति प्यासी छ जिन्दगी...’ ०२२ मा । त्यसपछि एउटा नेवारी गीत पनि गाए, ‘जीवन जिगु...’ । एमएस्सी पढ्दा केही समय गाएनन् । त्यसपछि रत्न रेकर्डिङ संस्थानमा एकैपटक चारवटा गीत डिस्क रेकर्ड भए । कति प्यासी.. सहित नित्य नयनमा तारा, प्रेमको अधुरो कहानी... ।
वनस्पतिशास्त्रमा एमएस्सी गरेपछि लोकसेवा आयोग दिएर प्रथम भएका थिए योगेश । करिब ३३ वर्ष सरकारी जागिर खाएका योगेश ०६१ मा सहसचिव पदबाट अवकाश लिएका थिए ।
शुक्रबार पशुपतिमा उनको अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । उनका दुई छोरी र एक छोरा छन्