Mero Chitwan
बाढीपहिरो र चट्याङमा परेर ५२ जनाको मृत्यु

काठमाडौं । इलाममा ३७ सहित शनिबार र आइतबारको बाढी-पहिरो र चट्याङमा परी अहिलेसम्म ५२ जनाको मृत्यु भएको छ । 

पाँचथरमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ । उदयपुरमा २, खोटाङमा २ र पाँचथरमा ८ जनाले ज्यान गुमाएका छन् । यस्तै रौतहटमा चट्याङ लागेर ३ जनाको मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ ।

यसैगरी रसुवामा खोलाले बगाएर ४ जना र इलाममा पहिरोमा परेर एक जना बेपत्ता भएका छन् । विभिन्न घटनामा १२ जना घाइते भएका छन् ।

वैशाखयता विपद्‍मा  परेर २८५ को मृत्यु, २७ बेपत्ता
यसैबीच यस वर्षको वैशाखयता हालसम्म विभिन्न विपद्जन्य घटनामा परेर २८५ जनाको मृत्यु भएको छ । 

आजसम्मको विवरणअनुसार अन्य २७ जना बेपत्ता रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । 

प्राधिकरणकी प्रवक्ता शान्ति महतले आज मात्रै ४४ जनाको मृत्यु भएको र पाँच जना बेपत्ता रहेको बताउनुभयो । सबैभन्दा बढी आज इलाममा ३७ जनाको पहिरोमा परेर ज्यान गएको र पछिल्लो मौसमी प्रणालीबाट ५० जिल्ला प्रभावित भएको उहाँले जानकारी दिनुभयो ।

 प्राधिकरणका अनुसार वैशाखयता सबैभन्दा बढी सर्पदंशबाट मात्रै ८६ जनाको मृत्यु भएको छ । त्यसपछि पहिरोमा परेर ४६ तथा चट्याङबाट ४५ जनाको मृत्यु भएको हो । 

 प्राधिकरणले आज सार्वजनिक गरेको विपद्जन्य घटनाको अभिलेखमा बाढीका कारण ३०, भारी वर्षाबाट छ, आगलागीबाट २३, हावाहुरीका कारण आठ, जनावरको आक्रमणबाट २२ र लेक लागेर १९ जनाको मृत्यु भएको उल्लेख छ । 

 यस्तै, बाढीबाट २३ जना, पहिरोका कारण तीन र जनावरको आक्रमणबाट एकजना बेपत्ता भएका छन् । हालसम्म चार हजार ६५ वटा विपद्जन्य घटना भएको र ती घटनामा परेर एक हजार ७२ जना घाइते भएको पनि प्रवक्ता महतले बताउनुभयो । कुल सात हजार २११ परिवार   ती विपद्बाट प्रभावित भएको उहाँले जानकारी दिनुभयो । 
 

प्रकाशित मिति: आइतबार, असोज १९, २०८२  २१:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update