
चितवन : नारायणगढ- मुग्लिन सडकको तुइनखोलामा मंगलबार दिउँसो पाँच बजे ठूलो पहिरो खसेपछि चितवन जिल्ला प्रशासन कार्यालयले वैकल्पिक रूट प्रयोग गर्न आग्रह गरेको छ ।
सडक तत्काल खुल्न सक्ने सम्भावना नरहेकोले पूर्वमा महोत्तरीको बर्दिवास र पश्चिममा रूपन्देहीको बुटवलबाटै वैकल्पिक मार्ग अपनाउन चितवन प्रशासनले अपिल गरेको छ ।
त्यसैगरी मकवानपुरको हेटौंडा, नवलपरासी बर्दघाट सुस्तापूर्वको कावासोती र गैंडाकोट, तनहुँको खैरेनीटार र धादिङको नौबिसेबाट वैकल्पिक रूट अपनाउन प्रशासनको सूचनामा उल्लेख छ । नारायणगढ-मुग्लिन सडक हुँदै दिनहुँ १० हजारभन्दा बढी साना ठूला गाडी र मालवाहक ट्रक ओहरदोहर गर्दछन् । यो सडक शुक्रबार साँझदेखि पहिरोबाट लगातार ४५ घण्टा ठप्प भएर आइतबार दिउँसो खुलेको थियो । राम्रोसँग सञ्चालनमा नआउँदै फेरि ठूलो पहिरो गएको छ ।
चितवन प्रशासनले यो समय सकेसम्म याात्रा नगर्न अनुरोध गरेको छ ।