Mero Chitwan
जेन-जी आन्दोलनका १० शहीदको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

काठमाडौं । जेन-जी आन्दोलनमा ज्यान गुमाएकामध्ये १० जनाको मंगलबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । 

त्रिवि शिक्षण अस्पतालमा रहेका ९ र पाटन अस्पतालमा रहेका १ गरी १० जनाको मंगलबार अन्त्येष्टि गरिएको हो। आन्दोलनमा ज्यान गुमाएका रसिक खतिवडा, गौरव जोशी, दिपेश सुनुवार र विनोद महर्जनको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । 

आर्यघाटमा सशस्त्र प्रहरीको टोलीले सलामी अर्पण गरेको थियो भने उर्जामन्त्री कु्लमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रिय झन्डा ओढाएर सम्मान अर्पण गर्नुभएको थियो । त्यसअघि शिक्षण अस्पतालदेखि आर्यघाटसम्म शवयात्रा निकालिएको थियो ।

अन्य ६ वटा शव भने सेनाको हेलिकप्टरमार्फत गृह जिल्ला लगिएको छ ।  सन्तोष विश्वकर्मा, प्रविन कुलुङ, सारकुमार राई, छत्रमान कुथुमी, साजन राई र विजय चौधरीको शव हेलिकोप्टरबाट गृहजिल्ला लगिएको हो । 

यसअघि नै जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका केही मृतकको दाहसंस्कार भइसकेको छ । सरकारले हिजो आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई शहीद घोषणा गर्दै राष्ट्रिय सम्मान दिएर अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । 

यस्तै मृतकका परिवारलाई १० लाख क्षतिपूर्ति र अन्य खर्चबापत ५ लाख गरेर १५ लाख रूपैयाँ दिने र असोज १ गते शोक दिवस मनाउने निर्णय पनि सरकारले गरेको छ । जेनजी आन्दोलनमा ७३ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०८२  २२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update