
काठमाडौँ- काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाँउमा प्रदर्शनकारीबाट भएको आक्रमणको निशानामा देशको प्रमुख प्रशासनिक केन्द्र सिहदरबारलगायत महत्त्वपूर्ण भवन र संरचना क्षति भएका छन् ।
काठमाडौँ बानेश्वरसहितका स्थानमा जेन-जी समूहका युवाबाट आयोजित प्रदर्शनपछि भड्किएको घटना र आगजनीमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका मुख्य भवन जलेका हुन् ।
सिँहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय भवन, रामशाहपथस्थित सर्वाेच्च अदालत र नयाँ बानेश्वरस्थित सङ्घीय संसद् आगलागीबाट ध्वस्त भएको छ ।
प्रदर्शनकारीले रामशाहस्थित महान्यायाधीवक्ताको कार्यालय तथा ट्राफिक कार्यालयसमेत आगजनी गरेका छन् । प्रदर्शनीकारीबाट नेकपा(एमाले) अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा(माओवादीकेन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललगायतका निवासमा तोडफोड र आगजनी गरिएको छ ।
एमालेका नेता गोकुल बास्कोटा, महेश्व बस्नेत, महेश बर्ताैलालगायतका निवासमा पनि आगजानी र तोडफोड भएको छ । आन्दोलनकारीले देउवा, विष्णु पौडेल, आरजु राणा, एक नाथ ढकाललगायतका केही नेताहरूलाई पनि आक्रमण गरेका छन् । देशका मुख्य शहरहरूका महत्त्वपूर्ण भौतिक संरचना र निवासमा पनि आन्दोलनकारीबाट क्षति पुर्याइएको छ ।
जेन्जी पुस्ताको प्रदर्शनीमा सोमबार प्रहरी कारवाहीमा होनाहार १९ युवा मारिएपछि प्रदर्शन आज चर्किएको हो ।