
काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न शहरमा भइरहेको ‘जेन-जी’को भ्रष्टाचारविरोधी प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु भएको छ । बानेश्वरमा केन्द्रीत प्रदर्शनमा प्रहरीले अत्यधिक बल प्रयोग गरेको थियो।
ट्रमा सेन्टरमा ८, एभरेस्ट अस्पतालमा ३, सिभिल अस्पतालमा ३, त्रिवि शिक्षण अस्पतालमा १ र केएमसीमा २ जनाको मृत्यु भएको पुष्टि भएको छ। यस्तै, इटहरीमा प्रहरीले गोली चलाउँदा थप दुई जनाको ज्यान गएको हो ।
हालसम्म ३ सय ४७ जना घाइते भएका छन्। सिभिल अस्पतालमा १००, एभरेस्टमा १०२, ट्रमामा ५९, केएमसीमा ३७, वीर अस्पतालमा ६, पाटनमा ४, त्रिवि शिक्षणमा १८, नर्भिकमा ३, बीपी प्रतिष्ठानमा २, गण्डकी मेडिकल कलेजमा १, विराट मेडिकल कलेजमा ४ र दमक अस्पतालमा ७ जनाको उपचार भइरहेको छ।
एभरेस्ट अस्पतालमा ४ जना गम्भीर अवस्थामा छन् भने ट्रमा सेन्टरका डा. दीपेन्द्र पाण्डेका अनुसार ट्रमामा १० जना गम्भीर घाइते छन्, जसको टाउको र छातीमा गोली लागेको छ।
प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले पानीको फोहरा, अश्रुग्यास र गोली प्रयोग गरेको थियो। भ्रष्टाचारविरोधी आन्दोलनका क्रममा ‘जेन-जी’ युवा काठमाडौंसहित देशका प्रमुख शहरमा सडकमा उत्रिएका छन्।
स्थिति तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले बानेश्वर, सिंहदरबार, तीनकुने, शंखमुल क्षेत्रमा राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ ।
यसैगरी राष्ट्रपति निवास परिसरलगायतका संवदेनशील क्षेत्रमा पनि प्रशासनले कर्फ्यु लगाएको छ । शीतल निवास आसपास महाराजगन्ज क्षेत्र, उपराष्ट्रपति निवास लैनचौर क्षेत्र, सिंहदरबारको चारैतिर, प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा कर्फ्यु थप गरेको हो ।
जेन-जीको प्रदर्शनमा बानेश्वर क्षेत्रमा कर्फ्यु जारी भए पछि सेना परिचालन भएको थियो । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्दै संसद भवन छिरेपछि कर्फ्यु जारी गरी सेना परिचालन गरिएको हो । प्रहरीले प्रदर्शनकारीलाई हटाउन अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको थियो । प्रदर्शनकारीहरु नयाँ बानेश्वरको निषेधित क्षेत्र तोड्दै अघि बढेपछि अवस्था तनावग्रस्त बनेको थियो ।
त्यसक्रममा दुवै पक्षबीच झडप भएको थियो भने केही प्रदर्शनकारीहरु संसद् भवनभित्र समेत प्रवेश गरेका थिए ।