नवलपुर । नवलपरासीपूर्वमा एक महिनाको अवधिमा जापानिज इन्सेफलाइटिसबाट तीनको मृत्यु भएको छ । गत साउन २० देखि हालसम्म जिल्लामा जापानिज इन्सेफलाइटिसबाट तीन जनाको मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
कार्यालयका प्रयोगशाला प्राविधिक निरीक्षक डिल्लीराम तिवारीले जिल्लाको मध्यविन्दु नगरपालिका–१ पतवारीका ५२ वर्षीय पुरुष, बौदिकाली गाउँपालिका–२ की ४५ वर्षीया महिला र हुप्सेकोट गाउँपालिका–१ की १३ वर्षीया बालिकाको जापानिज इन्सेफलाइटिसका कारण मृत्यु भएको जानकारी दिए ।
मृतकहरू बिरामी भएर उपचारका लागि भरतपुर जाँदा उनीहरूको ढाडको पानी झिकेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएकामा त्यहाँबाट जापानिज इन्सेफलाइटिस भएको रिपोर्ट आएको उनले बताए । “सङ्क्रमित बिरामी भएर अस्पतालमा जान्छन्, परीक्षणका लागि नमूना काठमाडौँ पठाउनुपर्छ”, उनले भने, “नतिजा ढिला गरेर आउँछ, कतिपय अवस्थामा बिरामीको मृत्यु भइसक्छ ।”
जापानिज इन्सेफलाइटिसबाट जिल्लामा हालसम्म १४ जना सङ्क्रमित भएका जनाउँदै तिवारीले दुई जनाको गम्भीर अवस्थामा उपचार भइरहेको उल्लेख गरे । “सङ्क्रमित दुवै बिरामीको काठमाडौँमा उपचार भइरहेको छ”, उनले भने, “ जापानिज इन्सेफलाइटिस सङ्क्रमित व्यक्तिको सिधैँ मष्तिष्कमा असर गर्ने भएकाले उहाँहरूको अवस्था गम्भीर बन्न थाल्छ ।”
उनका अनुसार सङ्क्रमण देखिएकामध्ये कावासोती नगरपालिकाका छ, मध्यविन्दु नगरपालिकाका चार र हुप्सेकोट गाउँपालिका, बौदिकाली गाउँपालिका, गैँडाकोट नगरपालिका र देवचुली नगरपालिकाका एक-एक जना छन् ।