Mero Chitwan
तीजको दिन पशुपतिनाथका ४ वटै ढोका खुला,यस्तो छ दर्शनसम्बन्धी व्यवस्था

काठमाडौं– पशुपति क्षेत्र विकास कोषले हरितालिका तीजका अवसरमा पशुपति दर्शनका लागि चारै वटै ढोकाबाट व्यवस्था गरिनेलगायतका प्रबन्ध गरेको छ। कोषकाे आयोजनामा मनाइने तीज र उक्त दिनमा भक्तालुहरुले मन्दिरका दर्शन सम्बन्धमा ११ बुँदे चरणहरुबारे जानकारी गराएको छ।

त्यस्तै,गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै भक्तजनले उत्तर ढोकाबाट प्रवेश गरी पश्चिम मूलढोकाबाट निस्कने व्यवस्था मिलाइएको छ।

त्यसैगरी, मित्रपार्क–जयवागेश्वरी–पाचागणेश–भिमसेनस्थान–भुवनेश्वरी–शंकराचार्य मठ दक्षिण हुँदै फलामे पुल पश्चिम सानो ढोकाबाट प्रवेश गरी पश्चिम मूलढोकाबाट बाहिर निस्कने व्यवस्था गरिएको छ।

र, पिंगलास्थान–चारशिवालय–पञ्चदेवल–बज्रघर हुँदै भक्तजनले कोटिलिङ्गेश्वर छेउको सानो ढोकाबाट प्रवेश गरी दक्षिण ढोकाबाट बाहिर निस्कने व्यवस्था मिलाइएको छ।

त्यस्तै, तिलगङ्गा–राम मन्दिर हुँदै बागमती नदीको पूर्व किनार र आर्यघाट नजिकको पुल तरेर भक्तजनले पूर्व ढोकाबाट प्रवेश गरी त्यही बाटो हुँदै फर्कने व्यवस्था गरिएको छ।

त्यसैगरी, भक्तजनको भीडलाई सहज बनाउन पशुपति क्षेत्र विकास कोषले विशेष ट्राफिक तथा पार्किङ व्यवस्था मिलाएको छ।मेला अवधिभर पशुपति क्षेत्रलाई पूर्ण रूपमा सवारी निषेधित क्षेत्र बनाइएको छ। 

सर्वोच्च अदालतको २०८० माघ ७ गतेको फैसला निर्देशानुसार उमाकुण्ड, दक्षिणामूर्ति, महास्नानघर पश्चिम, भुवनेश्वरी–गौशाला र वनकाली क्षेत्रको दर्शन मार्गमा कुनै पनि साधारण सवारी प्रवेश गर्न नपाउने व्यवस्था गरिएको छ।

दमकल, एम्बुलेन्स र घाटसम्म पुग्ने शव वाहनलाई भने छुट दिइने कोषले जनाएको छ। साथै, अदालतको आदेश कार्यान्वयनमा सबै पक्षलाई सहयोग गर्न पनि कोषले अपिल गरेको छ।

पार्किङका व्यवस्था यसप्रकार छन् :

– तिलगङ्गा आँखा अस्पतालतर्फको खुला क्षेत्र – भक्तजनका सवारी साधन
– सिफल चौरको खाली स्थान – भक्तजनका सवारी साधन
– गुह्येश्वरी पारीका खाली स्थान – भक्तजनका सवारी साधन
– पशुपति क्षेत्र विकास कोष कार्यालय परिसर र अमालकोट कचहरी परिसर – कोषका आफ्ना सवारी साधन तथा पर्वसँग सम्बन्धित निकायका सवारी साधन
– भण्डारखाल पूर्व पार्किङ क्षेत्र – सरकारी संस्थान र विशिष्ट व्यक्तिका सवारी साधन मात्र

प्रकाशित मिति: आइतबार, भदौ ८, २०८२  २२:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update