Mero Chitwan
१४ औं अन्तराष्ट्रिय हात्ती दिवसका अबसरमा सौराहामा हात्तीलाई वनभोज

रत्ननगर :  चितवनको सौराहामा मंगलबार हात्तीलाई वनभोज खुवाइएको छ ।  १४औं विश्व हात्ती दिवसका अबसरमा ६० वटा हात्तीलाई वनभोज खुवाइएको हो । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाले आयोजना गरेको उक्त कार्यक्रममा हात्तीलाई लामबद्ध रुपमा राखेर उखु, गाजर, बन्दा, सुन्तला, ड्रागन, स्याउ, फर्सीलगायत विभिन्न खानेकुरा खुवाइएको संस्थाका अध्यक्ष दीपेन्द्र प्रसाद खतिवडाले जानकारी दिए ।

हात्तीको पर्वको रुपमा लिएर सौराहाका व्यवसायीहरुले हात्ती दिवस मनाएका हुन् । चितवन राष्ट्रिय निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत डा.गणेश पन्तले हात्तीलाई केक खुवाएर हात्ती वनभोजको उद्घाटन गरेका थिए  ।  एक दिन भए पनि सबै प्रकारका खानेकुरा एकै समयमा सबै हात्तीलाई खुवाउँदा मनोरञ्जन हुनुका साथै हात्तीले पनि सबै खानाको स्वाद लिन पाउने भएकाले वनभोज कार्यक्रम राखिएको संस्थाका अध्यक्ष खतिवडाले बताए । ‘जसरी हामी वनभोज खान जाँदा रमाउँछौँ’, त्यसरी नै हात्तीलाई मन पर्ने खानेकुरा खुवाउँदा हात्ती खुसी हुन्छन्,’ उनले भने, यो  ‘राम्रो खुवाउने र स्याहार गर्नुपर्छ भन्ने सन्देश पनि हो  ।’

उनले हात्तीलाई काम मात्र लगाउने होइन पालनपोषण पनि गर्ने गरिन्छ भन्ने सन्देश वनभोजले दिने बताए । धेरै हात्तीले एकै ठाउँमा खाना खाँदा रौनकता बढेको र पर्यटकले रमाउँदै दृश्यावलोकन गरेको उनले बताए । मानिस र जनावरबीचको सम्बन्ध राम्रो बनाउन वनभोज महत्वपूर्ण रहेको अध्यक्ष खतिवडाले बताए । कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत डा.गणेश पन्तले जंगली हात्ती र निजी हात्तीको अन्तरसम्बधले हात्ती संरक्षणमा भूमिका खेलिरहेको भन्दै उनले पर्यटनमा प्रयोग भएका निजी हात्ती संरक्षणमा निकुञ्ज जिम्मेवार रहेको बताए ।

कार्यक्रममा राष्ट्रिय पंछीरोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा.विजय कुमार श्रेष्ठ, वडा नं ५ का वडाध्यक्ष बालकृष्ण चापागाईँ, वडा नं ७ का वडाध्यक्ष सजना महतो लगायतले मन्तव्य राखेका थिए । 

प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२  २३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update