Mero Chitwan
कैलाली कारागार झडप : तेस्रो दिनमा बल्ल कैदीबन्दीले दिए प्रशासनलाई प्रवेश अनुमति

चितवन । हिंसात्मक झडपको तेस्रो दिनमा कैलाली कारागारमा बल्ल प्रशासनले प्रवेश अनुमति पाएको छ । राष्ट्रिय मानवअधिकार आयोगको रोहवरमा  कैलाली कारागारका जेलर जालन्धर भुसालको नेतृत्वमा जनपथ र सशस्त्र प्रहरीको टोलीले कारागार प्रवेश गरि  अनुगमन गरेको हो ।  

अपरान्ह ४ः४५ बजेदेखि ६ बजेसम्म कारागार अनुगमन गरिएको जेलर भुषालले जानकारी दिए । उनका अनुसार कैलाली कारागार अहिले सामान्य बन्दै गएको छ । कैदी बन्दीले लगाएको तालाको चाबी आफूलाई हस्तान्तरण गरेको जेलर भुषालले बताए । अनुगमनका क्रममा कारागारभित्र सामान्य अवस्था रहेको बताइएको छ । कारागारभित्र रहेका कैदीबन्दीहरुको गणना समेत गरिएको छ ।

 दुई समूहबीचको झडपका कारण शनिबारदेखि तनावग्रस्त रहेको कारागारमा सुरक्षाकर्मी समेत प्रवेश गर्न पाएका थिएनन् । कैदीबन्दीहरूले भित्रबाट ताला लगाउँदै थुनुवा कक्ष पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएर कसैलाई प्रवेश गर्न दिएका थिएनन् ।

गम्भीर घाइते भएका गोदावरीका आयुष भट्टलाई शनिवार साँझ काठमाण्डौ रिफर गरिएको थियो भने अर्का घाईते मोहन्याल ३ का करण सलामीलाई आइतवार रिफर गरिएको छ । उनको नसा काटिएकोले रगत नरोकिएपछि रिफर गर्नुपरेको सेती प्रादेशिक अस्पताल धनगढीका मेडिकल सुपरिटेण्डेण्ट डा .हेमराज पाण्डेले जानकारी दिए ।

शुक्रबार राति भएको झडपमा एक जनाको मृत्यु हुनाको साथै ४८ जना घाइते भएका थिए । घाइतेमध्ये  २ जनालाई काठमाडौं रेफर गरिएको छ । 

 

प्रकाशित मिति: आइतबार, साउन २५, २०८२  २२:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update