Mero Chitwan
उत्तरकाशीको धराली क्षेत्रबाट १३ नेपालीको उद्दार

 चितवन । भारत उत्तराखण्डको उत्तरकाशी जिल्लाको धराली तथा आसपासका क्षेत्रबाट १३ नेपालीको उद्धार गरिएको छ । प्रभावित क्षेत्रबाट शुक्रबार १ र शनिबार १२ जनाको उद्धार गरिएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । उद्धार गरिएकाको नाम खुले पनि थर र ठेगाना स्पष्ट हुन नसकेको दूतावासले जनाएको छ ।

वीरेन्द्रलाई शुक्रबार उद्धार गरिएको छ । शनिबार ठेगाना नखुलेका प्रशंसा शाह, कोमल शाह र रमन शाहको उद्धार गरिएको छ । उनीहरू एकै परिवारका हुन् । यसैगरी गंगा र उनका श्रीमान् दिनेशको पनि उद्धार गरिएको छ । दूतावासका अनुसार सूर्य शाही, प्रवीण सिंह, नवराज बोहरा, गणेशबहादुर शाही, राजबहादुर शाही, दीपेन्द्र शाही र नरेन्द्र शाहीको समेत उद्धार गरिएको छ ।

उद्धार गरिएकाहरू भारतकै हरिद्वार र देहरादूनलगायत क्षेत्रमा छन् । हालसम्म धराली र गंगोत्री क्षेत्रबाट ९ सय ७५ जनाको उद्धार गरिएको छ ।

उत्तरकाशीका डीएम प्रशान्त आर्यका अनुसार खिरगंगा नदीले तहसनहस गरेको धराली बजार क्षेत्रमा हालसम्म दुई जनाको शव भेटिएको छ । खोज र उद्धारको काम सँगसँगै चलिरहेको छ । धराली क्षेत्रमा फसेकालाई हेलिकोप्टरबाट उद्धार भइरहेको छ । साथै उक्त क्षेत्रमा घाइतेको उपचारसमेत भइरहेको छ । उद्धारका लागि सेना, प्रहरी, एनडीआरएफ, एसडीआरएफलगायतको टिम परिचालन गरिएको छ ।

 

प्रकाशित मिति: शनिबार, साउन २४, २०८२  २२:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update