Mero Chitwan
सौराहामा फेला पर्‍यो दुर्लभ पुतली ‘चाँदी धर्से बबुलपरी’

चितवन : नेपालमा अति नै दुर्लभ मानिएको पुतली ‘चाँदी धर्से बबुलपरी’ चितवनको पर्यटकीय क्षेत्र सौराहामा फेला परेको छ ।

नेपालमा सन् १९७४ पछि यो पुतली यस पटक देखिएको चितवनका पुतली विज्ञ टेकबहादुर गुरुङले बताए । गुरुङसहितको टोलीले मंगलबार मध्याह्न उक्त पुतली देखेको हो । गुरुङको सहलेखनमा गत वर्ष मात्रै फिल्ड गाइड, बटरफ्लाईज अफ चितवन, नेपाल नामको किताब प्रकाशित भएको थियो ।

पोखराका पुतली विज्ञ साजन केसी र सुरेन्द्र परियार तथा नेदरल्यान्ड्सका पिट भेनको टोलीले यसको थप पहिचान र पुष्टि गरेको गुरुङले जानकारी दिए । नेपालमा ‘पुतली बाजे’ भनेर प्रख्यात कोलिन स्मिथले सन् १९७४ मा मकवानपुरमा पहिलो पटक यो पुतली रेकर्ड गरेका थिए । त्यसको ५१ वर्षपछि दोस्रो पटक चितवनमा यो पुतली भेटिएको गुरुङको दाबी छ । यसको वैज्ञानिक नाम जिनास्पा टोडरा भएको उनले बताए । अंग्रेजीमा यसलाई सिल्भर स्ट्रिक्ड एमासिया ब्लु भनिन्छ । 

नेपालमा ६९२ प्रजातिका पुतलीहरू भेटिँदा चितवनमा मात्रै ३१२ भन्दा धेरै पुतलीहरू रहेको गुरुङले बताए ।

प्रकाशित मिति: बुधबार, साउन २१, २०८२  २२:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update