Mero Chitwan
बंगलादेशदेखि काठमाडौंसम्मको उपचार यात्रा : मुस्तफाको सफलता कथा

काठमाडौं । बंगलादेशका मुस्तफालाई लामो समयदेखि  ढाड दु्ख्ने समस्या थियो । स्वदेशकै अस्पतालमा नाम चलेका डाक्टरसँग उपचार गराउँदा पनि निको नभएपछि छिमेकी मुलुक भारतको कोलकातासम्म पुग्नुभयो । तै पनि समस्या उस्तै भएपछि झोला बोकेर सिधै काठमाडौंको टिकट काट्नुभयो । 

आएको दिन होटलमा बस्नुभयो । उहाँलाई विश्वास थियो–नेपालको उपचारले निको हुन्छु । भोलिपल्ट बिहान होटलबाट चेक आउट गरेर ब्यागसहित सिधै नर्भिक पुगेर ओपीडीमा नाम दर्ता गराउनुभयो । 

नेपाली, हिन्दी र अंग्रेजी केही पनि नआउने बिरामी ओपीडीमा देखेपछि डा. राजीव झालाई अनौठो लाग्यो । कुरा गर्दै जाँदा थाहा भयो, उहाँ बंगलादेशबाट डा राजीवसँगै उपचार गराउन नर्भिक आउनुभएको रहेछ । उहाँले उपचार गराउने क्रममा आफूले अस्पताल चहारेको सबै कथा सुनाउनुभयो । 

डा झाले परीक्षणबाट थाहा पाउनुभयो–उहाँ क्रोनिक ब्याक पेन अर्थात् ढाड दुख्ने समस्याबाट पीडित हुनुहुँदोेरहेछ ।
एमआरआइमा पनि नसा च्यापिएको देखियो। त्यसपछि डा झाले उपचार सुरु गनुभयोे–फिजियोथेरापी गराउनुभयो र ट्रान्सफोरामिनल ब्लक इन्जेक्सन लगाउनुभयो । उपचार गर्दै जाँदा उहाँको दुखाई पूर्ण रुपमा हरायो । अहिले उहाँ डिस्चार्ज भइसक्नुभएको छ । 

मुस्तफाले पनि नर्भिकमा उपचारपछि लामो समयदेखिको पीडाबाट मुक्त भएकोमा  खुसी व्यक्त गर्नुभयो । 
‘उपचारपछि पीडामु्क्त हुँदा उहाँ निकै खुसी देखिनु भएको थियो,’ डा झाले भन्नुभयो, ‘विशेषगरी दक्ष चिकित्सक, प्रविधिलगायतका कारण नेपालको स्वास्थ्य सेवाप्रति दक्षिणपूर्वी एशिया क्षेत्रकै नागरिकको विश्वसनीयता बढ्दै गएको छ ।’
विशेषगरी भारतबाट उपचारकै लागि नेपालका अस्पतालमा उपचार गराउन आउनेको संख्या पनि बढिरहेको छ । ‘अझ नेपालसँग सीमा जोडिएका भारतीय गाउँ–गाउँबाट गाडी नै रिजर्भ गरेर समूहमा आउने र उपचार गरेर फर्कने क्रम बढिरहेको छ,’ डा झाले भन्नुभयो । 

डा. झाले दक्ष चिकित्सक तथा अत्याधुनिक विश्वस्तरीय प्रविधिका कारण नेपाल पनि भारतजस्तै मेडिकल हबको रुपमा विकास हुने दिशातिर गइरहेको बताउनुभयो । 

नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रका अनुसार नर्भिकबाट बंगलादेशमात्र होइन,  सातवटै महादेशका ३० देशका नागरिकले उपचार सेवा लिइसकेका छन् र विश्वका विभिन्न मुलुकबाट नर्भिकमा उपचार गराउन आउने क्रम जारी छ । ‘हामी नर्भिक अस्पताललाई अझै विश्वसनीय र  गुणस्तरीय बनाउने दिशामा अघि बढिरहेका छौं,’ उहाँले भन्नुभयो, ‘हाम्रा जनशक्ति तथा प्रविधि विश्वस्तरीय उपचार गराउन सक्षम पनि छन् ।’

प्रकाशित मिति: बुधबार, साउन २१, २०८२  २२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update