Mero Chitwan
आइतबारदेखि वर्षाको गतिविधि बढ्ने,  मधेशमा मनसुन थप सक्रिय हुने

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले न्यून चापीय रेखा उत्तरतर्फ भएकाले फेरि केही दिन वर्षाको गतिविधि बढ्ने जनाएको छ । आज पनि देशभर बदली भई ठाउँ ठाउँमा वर्षा भएको छ । यो क्रम आइतबारदेखि झन् बढ्ने विभागको भनाइ छ । 

आइतबारदेखि न्यून चापीय रेखा उत्तरतर्फ गएकाले तराईमा समेत वर्षा हुने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित छ ।

वर्षा हुने प्रणाली सक्रिय भएकाले अबको तीन दिन वर्षाका गतिविधि बढ्नेछ । अहिले कोशी र बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

आगामी केही दिन मधेश प्रदेशलगायत देशभर मनसुन थप सक्रिय हुने देखिएकाले सर्वसाधारण तथा सबै सरोकार भएका निकायमा पछिल्लो मौसमी सूचनाको जानकारी लिन महाशाखाले आज साँझ बुलेटिनमार्फत अनुरोध गरेको छ ।

तराई क्षेत्रमा आइतबार रातिदेखि साधारणतया बदली रही अधिकांश स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ । आइतबार कोशी, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । सोमबार कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा भारी वर्षा हुने जनाइएको छ ।

 

प्रकाशित मिति: शनिबार, साउन १७, २०८२  २३:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update