Mero Chitwan
सम्पर्कविहीन हायू परिवार कास्कीको गगनगौंडामा भेटिए

पोखरा — सम्पर्कविहीन भएको भनिएका सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाको हायू परिवारका सदस्य कास्कीको गगनगौंडामा फेला परेका छन् ।  उनीहरूलाई गगनगौंडास्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा आश्रय लिइरहेको अवस्थामा फेला पारिएको कास्की प्रहरीले जनाएको छ । 

उनीहरु २० हजार रुपैयाँमा गाडी भाडामा लिएर सपरिवार उनीहरू पोखरा आएको  र शनिबार लेकसाइडमा रहेको होटल जननीमा बसेर आइतबार निस्किएको देखिएको प्रहरीले जनाएको छ । उनीहरु १६ जना हराइरहेको समाचार सार्वजनिक भएपछि होटल सञ्चालक सुनिल भुर्तेलले प्रहरीलाई जानकारी गराएका थिए ।

कास्की प्रहरीका अनुसार हायू परिवारका सदस्यले सोमनाथ र चन्द्रको घरमा डेरा लिएर बसेका थिए । उनीहरुले पोखरामा ज्यामी काम गर्नका लागि आएको बताउँदै डेरा लिएका थिए ।  परिवारले एक जना ज्वाईं पोखराकै स्थानीय रहेको उनीहरुले जानकारी दिएका छन् । एक जना छोरी भने काठमाडौंमै रहेको सिन्धुली प्रहरीले जनाएको छ । गण्डकी प्रदेश प्रहरी प्रमुख डिआईजी दिनेश आचार्यले पनि उनीहरु गगनगौंडामा फेला पारेको र थप अनुसन्धान हुँदै गरेको बताए ।

परिवारकै १६ जना ४ दिनदेखि सम्पर्कविहीन भएको खबर सोमबार दिनभर नै चर्चामा रहेको थियो । एकलासमा रहेको घरमा सोमबार प्रहरीसहितको टोली पुग्दासमेत कोही नभेटिएपछि सम्पर्कविहीन भएको भन्दै उनीहरुको खोजी व्यापक बनाइएको थियो ।

प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  २३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update