
चितवन । सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ छेत्पा नजिक विप्पर कटेरीमा बस्दै आएका हायू समुदायका एकै परिवारका १६ जना सम्पर्कविहीन भएका छन् ।उर्मिला हायूसहित उनको १६ जनाको परिवार चार दिनदेखि सम्पर्कविहीन भएपछि खोजीका लागि प्रहरी परिचालन गरिएको छ।
अनकन्टारमा रहेको घरमा सोमबार प्रहरीसहितको टोली पुग्दा कोही पनि भेटिएका थिएनन् । स्थानीयका अनुसार गत बिहीबार सुँगुर काटेर भोज गरेपछि उनीहरू सम्पर्कविहीन भएका हुन् ।
१५ मिनेटको दूरीमा रहेका छिमेकीहरूले पनि शुक्रबारदेखि परिवारका कसैलाई पनि नदेखेको बताएका छन् । इलाका प्रहरी कार्यालय खुर्कोटको टोली र वडाध्यक्ष रविन श्रेष्ठसहित घरमै पुगेर खोजतलास गरेका थिए । छन् ।
वडाध्यक्ष श्रेष्ठका अनुसार उनीहरूको भान्साघर जल्नुका साथै भाँडाहरू अस्तव्यस्त छन् । भान्सा केही जलेको भेटिएको छ । खोरमा पाँच वटा बाख्रा भोकै रहेको र कुकुर रोइरहेको अवस्थामा भेटिएको छ । अल्पसंख्यक लोपोन्मुख हायू जाति भएकाले सामाजिक सुरक्षा भत्ता लिँदा वडा तथा पालिकामा फोन नम्बर हुने भएकाले सम्पर्कको प्रयास भइरहेको अध्यक्ष श्रेष्ठले बताए ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीले सम्पर्कविहीन परिवारको खोजी जारी रहेको बताए । उनले सम्पर्कविहीन भएकाहरूको फोनको लोकशन रामेछापको मन्थलीतिर देखिएको भन्ने आएकाले कतै घुम्न गएका हुन् कि भन्ने अनुमान गरिएको बताए ।