Mero Chitwan
रत्ननगर अस्पतालमा सुरु भयो रेविजविरुद्धको खोप सेवा

रत्ननगर - बकुलहर रत्ननगर प्रादेशिक अस्पतालमा रेबिज रोगविरुद्धको खोप (एन्टी रेबिज भ्याक्सिन–एआरभी) सेवा सुरु भएको छ।

रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटाले अस्पतालका अध्यक्ष गोपालराज कर्माचार्य, मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. मदन ज्ञवाली र जनस्वास्थ्य शाखा प्रमुख नारायण ढुङ्गानालाई भ्याक्सिन हस्तान्तरण गरी उक्त सेवा सुरु गरेका हुन्।

उद्घाटन समारोहमा नगरप्रमुख सापकोटाले लामो प्रयासपछि अस्पतालमा रेबिज भ्याक्सिन सेवा उपलब्ध गराउन सफल भएको बताए। “यो सेवाले रेबिजविरुद्धको खोपका लागि सेवाग्राहीहरूलाई सहजता प्रदान गर्नेछ,” उनले भने। उनले रत्ननगर नगरपालिकाले अस्पतालसँग स्थापनाकालदेखि नै सहकार्य गर्दै आएको र आगामी दिनमा पनि आवश्यक सहयोग तथा सहजीकरणलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। साथै, उनले प्रादेशिक अस्पतालमा मेसिन, उपकरणलगायतका सेवासुविधा विस्तारका लागि बागमती प्रदेश सरकारको सहयोग अपरिहार्य रहेकोमा जोड दिए।

अस्पतालका अध्यक्ष गोपालराज कर्माचार्यले अस्पतालमा सिटी स्क्यानको अभाव रहेको उल्लेख गर्दै रत्ननगर नगरपालिकासँग सहयोग र सहजीकरणको अपेक्षा गरे।

कार्यक्रममा अस्पतालका सदस्य विश्वनाथ खनाल, जनस्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत इन्द्रमणि भण्डारी, मेसु डा. मदन ज्ञवाली, रत्ननगर नगरपालिका सामाजिक विकास समितिका संयोजक बालकृष्ण चापागाईं र इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी प्रमुख डिएसपी रञ्जन अवालेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

 

 

प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  २०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update