Mero Chitwan
काठमाडौँ उपत्यकासहित अधिकांश स्थानमा वर्षा, कहाँ कति भयो वर्षा ?

काठमाडौँ । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाले सोमबार काठमाडौँ उपत्यकासहित अधिकांश स्थानमा वर्षा भइरहेको छ । तर मधेशमा भने पर्याप्त वर्षा हुन सकेको छैन ।

आइतबार राति सप्तरी, रौतहट र पर्सा जिल्लाको केही स्थानमा वर्षा भए पनि अन्य प्रदेशको तुलनामा मधेश प्रदेशमा कम वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  मधेशमा अझै केहीदिन भारी वर्षा हुने सम्भावना नरहेको जनाइएको छ । 

पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै वर्षा सिन्धुपाल्चोकको नुर्पु गाउँमा १२३.४ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आइतबार रातिदेखि काठमाडौँ उपत्यका र आसपासका जिल्लाहरुमा पनि लगातार पानी परिरहेको छ । नुवाकोटको पानसय खोला वर्षा मापन केन्द्रमा ८५.४ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।

काठमाडौँको पानीपोखरीमा ६५ मिलिमिटर, कपनमा ३६, सुन्दरीजलमा ३०, चन्द्रागिरिमा २३, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २२ र बबरमहलमा १९.६ मिलिमिटर वर्षा मापन भएको छ ।

यसैगरी, भक्तपुरमा १८ मिलिमिटर, ललितपुरको टिकाथलीमा १८, खुमलटारमा १६.४, लेलेमा १३.८ र गोदावरीमा १३.४ मिलिमिटर वर्षा भएको छ ।

अहिले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपान अवस्थित छ । तर बंगालको खाडीबाट आएको जलवाष्पयुक्त  वायुले वर्षा गराइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  १०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update