
काठमाडौं । नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले आज चितवनका यी क्षेत्रमा ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको छ ।
अत्यधिक गर्मी र रोपाईंको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको लोड बढ्न गएको भन्दै साउन ११ का लागि लोडसेडिङ तालिका सार्वजनिक गरिएको हो ।
वितरण केन्द्र चनौली अन्तर्गत पर्ने नारायणी-माडी, मेघौली-विजयनगर-शुक्रनगर र जगतपुर-रामपुर फिडरहरूमा लोडसेडिङ हुने भएको हो ।
वितरण केन्द्रले जनाए अनुसार, भरतपुर १३२ / ३३ केभी सब स्टेशनबाट आउने ३३ केभी डग कन्डक्टर तारमा ३०० एम्पिएर भन्दा बढी विद्युत् प्रवाह गर्न नमिल्ने ( क्षमताले नधान्ने) अवस्था रहेको छ ।
तर, अहिले विद्युत् माग बढेर सो तारमा ४५० एम्पिएरसम्म विद्युत् प्रवाह हुँदा लोड धान्न नसकेको वितरण केन्द्रले सूचनामार्फत जनाएको छ ।
कहाँ कतिबेला लोडसेडिङ ?
१. नारायणी-माडी फिडरहरू : बिहान ६:०० देखि ९:०० र दिउँसो ३:०० देखि ६:०० बजेसम्म ।
२. मेघौली-विजयनगर–शुक्रनगर फिडरहरू : बिहान ९:०० देखि १२:०० र बेलुका ६:०० देखि ९:०० बजेसम्म ।
३. जगतपुर-रामपुर फिडरहरू : दिउँसो १२:०० देखि ३:०० र बेलुका ९:०० देखि १२:०० बजेसम्म ।