Mero Chitwan
चितवन राष्ट्रिय  निकुञ्ज घुम्ने पर्यटक घटे

भरतपुर (चितवन)- चितवन राष्ट्रिय निकुञ्जमा घुम्ने पर्यटकको सङ्ख्या घटेको छ । गत वर्षको तुलनामा झण्डै २५ प्रतिशत पर्यटक घटेको चितवन राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार आर्थिक वर्ष २०८०/८१ को तुलनामा गत आर्थिक वर्ष २०८१/८२ मा ७५ हजार पाँच सय आठ जना निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्यामा कमी आएको हो ।

आर्थिक वर्ष २०८०/८१ मा चितवन राष्ट्रिय निकुञ्जमा तीन लाख छ हजार आठ सय ३७ जना पर्यटकले निकुञ्ज घुमेका थिए भने गत आर्थिक वर्ष जम्मा दुई लाख ३१ हजार तीन सय २९ जना पर्यटक निकुञ्ज प्रवेश गरेको सूचना अधिकारी थापामगरले जानकारी दिए ।  त्यसमध्ये एक लाख १७ हजार दुई सय छ जना स्वदेशी थिए ।

निकुञ्ज प्रवेश गर्नेमा महिलाको सङ्ख्याभन्दा पुरुषको सङ्ख्या बढी छ । यस्तै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्रका २४ हजार आठ सय र सार्क बाहेकका देशबाट ८९ हजार तीन सय २३ जनाले निकुञ्ज घुमको निकुञ्ज कार्यालयको तथ्याङ्कमा उल्लेख छ । चितवन निकुञ्ज घुम्न कात्तिक महिनामा सबैभन्दा धेरै पर्यटक आएका छन् । यो महिनामा ३२ हजार दुई सय ५२ जना निकुञ्ज घुम्न आएका थिए । सबैभन्दा कम साउन सात हजार तीन सय नौ जनाले निकुञ्ज घुमेका छन् ।

सडक पूर्वाधार लगायतका कारणले गत आर्थिक वर्षमा पर्यटकको सङ्ख्यामा कमी आएको थापामगरले बताए । उनले यस आर्थिक वर्षमा पर्यटकको सङ्ख्या बढ्ने अपेक्षा गरिएको बताए ।  रेष्टुरेण्ट एण्ड बार एशोसिएशन (रेवान) सौराहाका अध्यक्ष ध्रुव गिरीले चितवन निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्यामा कमी आएको भन्दै यसले सौराहाको पर्यटन व्यवसायमा ठूलो असर पारेको बताए। उनले अन्तरराष्ट्रिय विमानस्थलमा केही समय भएको रात्रीकालिन उडान बन्द, मुख्य सहरसँग चितवन जोड्ने सडकको अवस्था नराम्रो भएका कारण यहाँ आउने पर्यटकको संख्यामा कमि आएको बताए । उनले विमानस्थल र मुख्य राजमार्गहरू सुधार गर्न सके मात्र पर्यटकको सङ्ख्या बढाउन सकिने जनाए। 

प्रकाशित मिति: सोमबार, साउन ५, २०८२  २२:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update