
काठमाडौं । रौतहट बम विस्फोटको घटनामा जिल्ला अदालतबाट दोषी ठहर भए पनि उच्च अदातलबाट सफाइ पाएका पूर्वमन्त्री आफताब आलमविरूद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दिएको छ ।
महान्यायाधिवक्ता कार्यालयले शुक्रबार सर्वोच्चमा पुनरावेदनका लागि निवेदन पेस गरेको हो । आइतबार पुनरावेदन दर्ता हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।
पहिलो संविधानसभा निर्वाचनको अघिल्लो रात २७ चैत २०६४ मा रौतहटमा भएको बम विस्फोट र त्यसमा परेर घाइते भएकालाई जिउँदै इँटाभट्टामा हालेर हत्या गरेको आरोप लागेका पूर्वमन्त्री तथा कांग्रेस नेता मोहम्मद आफताब आलमसहित चार जनालाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले गत जेठ १४ गते सफाइ दिएको थियो।
उक्त फैसलापछि पीडित पक्षले न्याय नपाएको गुनासो गरिरहेको छ । सर्वोच्च अदालतले फैसला सुनाउने उच्च अदालतका दुई न्यायाधीशलाई सर्वोच्चमा झिकाएको छ । न्याय परिषदले अनुसन्धान गरिरहेको छ ।