
चितवन : इच्छाकामना गाउँपालिकाका किसानलाई १७ हजार पाँच सय बिरुवा वितरण गरिएको छ । गाउँपालिकाको कृषि शाखाले सुन्तला प्रवर्द्धन कार्यक्रम अन्तर्गत वडा नं २,३, ५, ६ र ७ का किसानलाई सुन्तलाको बिरुवा वितरण गरेको हो ।
शाखा अधिकृत समिक्षा पौडेलका अनुसार कलमी बिरुवा दुई हजार पाँच सय र बिज बिरुवा १५ हजार वितरण गरिएको हो । सुन्तलाको क्षेत्र विस्तार तथा नमूना बगैँचा बनाउने योजनाका साथ सुन्तलाका बिरुवा वितरण गरिएको हो । प्रदेश सरकारले सुन्तला प्रवद्र्धन कार्यक्रमलाई सहयोग गरेको उनले बताइन् ।
बिरुवा वितरणसँगै यहाँको सुन्तला लगाइएको क्षेत्रफल बढेको छ । उनले भनिन्, 'सुन्तलाको क्षेत्रफल बढेको छ । पहिला सुन्तला लगाएको बगैँचा ८५ हेक्टर क्षेत्रफल भएकोमा अहिले बढेर ९० पुगेको छ ।”सुन्तला लगाएको बगैँचामा मरेका बिरुवालाई प्रतिस्थापन गरेर नयाँ बिरुवा लगाइएको छ, भने नयाँ बगैँचा थपिएको छ । कार्यालयले सुन्तलाको क्षेत्रफल विस्तारसँगै नमूना बगैँचा बनाउने कार्यक्रम राखेको भए पनि काम हुन नसकेको उनले बताइन् ।
नमूना सुन्तला बगैँचा स्थापना, गुरु किसान परिचालनको काम भने हुन नसकेको पौडेलले बताइन् । उनका अनुसार गुरु किसान छनोट गरेर प्रक्रिया अघि बढाउने क्रममा किसानले चासो नदेखाएपछि यो कार्यक्रम स्थगित भएको हो । उनले भनिन् “किसानले इच्छा जाहेर नगरेपछि समस्या भयो ।” वडा नं ३ बाट किसान छनोट गरिएको भए पनि काम हुन नसकेको उनले बताइन् ।