
काठमाडौं– नेपाल शिक्षक महासंघले साउन २ गतेसम्म विद्यालय शिक्षा ऐन पास नभए फेरि आन्दोलनमा जाने चेतावनी दिएको छ । साउन २ गतेसम्म पर्खिने र त्यतिबेलासम्म पनि पास नभए त्यही दिन पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने महासंघले जनाएको छ ।
सरकारले विगतदेखि नै शिक्षक महासंघसँग सहमति गर्ने तर कार्यान्वयन नगर्ने गरेकाले यसपाली त्यस्तो अवस्था सहेर नबस्ने महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले बताएकी छिन् । असरा १५ भित्र ऐन जारी गर्ने सरकारको प्रतिबद्धता भए पनि अहिलेसम्म त्यो पूरा नभएकाले अब साउन २ गतेसम्मको समय दिइएको र त्यो पनि नभए आन्दोलनमा उत्रिन बाध्य हुने उनको चेतावनी छ ।
सरकार र शिक्षक महासंघबीच १७ वैशाखमा ९ बुँदे सहमतिसँगै १५ असारभित्र ऐन जारी गर्ने सहमति भएको थियो । तर, समय सीमा सकिएको पनि १५ दिन भयो । तर, विधेयक समितिमै अड्किएको छ ।
आन्दोलनबारे अनुमोदन गर्न महासंघले ९ र १० साउनमा केन्द्रीय समितिको बैठक समेत बोलाएको छ । विभागीय कारबाहीको अधिकार स्थानीय तहलाई नदिन महासंघको माग छ ।
गत २० चैतदेखि २९ दिन लामो शैक्षिक हड्ताल गरेर देशभरिका शिक्षकहरू सडक आन्दोलनमा आएका थिए ।