Mero Chitwan
स्वास्थ्य बिमामार्फत् बिरामीले २ लाखको सुविधा पाउने स्वास्थ्यमन्त्रीको घोषणा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध बिरामीले अबदेखि दोब्बर उपचार सुविधा प्राप्त गर्ने घोषणा गरेका छन्  ।  मन्त्री पौडेलका अनुसार आगामी साउन १ गतेदेखि आठ जटिल रोगको उपचारमा बिरामीले हालको एक लाखको सट्टा दुई लाख रुपैयाँसम्मको सहायता पाउनेछन् ।

मन्त्री पौडेलले सामाजिक सञ्जालमार्फत उक्त घोषणा गर्दै भने, “कडा रोग लागेर उपचार खर्च जुटाउन नसक्ने नागरिकको पीडालाई मध्यनजर गर्दै, साउन १ गतेदेखि आठ प्रकारका बिरामीले स्वास्थ्य बिमा कार्यक्रममार्फत दुई लाखको उपचार सुविधा प्राप्त गर्ने व्यवस्था गरेका छौं ।”

यो सुविधा क्यान्सर, मुटु, मृगौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले पाउनेछन् । यसअघि मन्त्री पौडेलले यस्ता जटिल रोगका बिरामीलाई राहत दिन उपचार खर्च बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । सोहीअनुसार मन्त्रालयले स्वास्थ्य बिमा बोर्डलाई निर्देशन दिएको थियो ।

स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले मंगलबार राति बसेको बोर्ड बैठकले आठ जटिल रोगीलाई दुई लाख उपचार खर्च दिने निर्णय गरेको जानकारी दिए । “यो निर्णय साउन १ गतेबाट लागु हुनेछ,” उनले भने ।

स्वास्थ्य बीमाका पहुँच विस्तारका लागि मन्त्री पौडेलले विगतमा बिमा सदस्यले आफू बसोबास गरेको ठाउँबाटै सेवा लिन सक्ने नीतिगत निर्णय पनि गरेका थिए । साथै, प्रत्येक तहमा बिमा सेवा उपलब्ध गराउने नीति अवलम्बन गरिएको छ । “स्वास्थ्य बिमालाई थप परिष्कृत गर्दै आम नागरिकको पहुँच अभिवृद्धि गराउन निरन्तर प्रयासरत छौं,” मन्त्री पौडेलले भने, “रचनात्मक सुझाव सधैं स्वागतयोग्य छन् ।”

उपचार सहायताको सीमा वृद्धि मात्र नभई बिमा कोषको दिगो विकासका लागि आम्दानी स्रोत बढाउने योजनासमेत अघि सारिएको छ । हालैको नीति तथा कार्यक्रमअनुसार सबै सरकारी तथा संगठित क्षेत्रका कर्मचारीलाई अनिवार्यरूपमा स्वास्थ्य बिमामा आबद्ध गराउने निर्णय भइसकेको छ । वैदेशिक रोजगारीमा रहेका नेपाली र उनीहरूका परिवारलाई समेत बिमामा समावेश गराउने प्रयास भइरहेको छ । मन्त्रालयको पत्राचारपछि सरकारका विभिन्न निकायले स्थानीय तहसम्म अभियान थालेका छन् ।

 

प्रकाशित मिति: बुधबार, असार २५, २०८२  २३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update