
काठमाडौं– नेसनल टेलिभिजन (हाल बन्द) का अध्यक्ष युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर भएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले शुक्रबार अन्सारीविरुद्ध ९ करोड ९ लाख ५३ हजार ७ सय ९ रुपैयाँ बिगो कायम गरी बिगोको दोब्बर जरिवाना र कैद सजाय मागदाबीसहित सम्पत्ति शुद्धीकरण अभियोगमा मुद्दा दायर गरेको हो ।
नक्कली भारतीय नोटको कारोबार र विदेशी मुद्रा तस्करी, लागूऔषध कारोबारबाट आर्जित सम्पत्ति शुद्धीकरण गरेर टेलिभिजन सञ्चालनदेखि जग्गा/जमिन खरिदबिक्री लगायतमा लगानी गरेको अभियोगमा उनलाई प्रतिवादी बनाइएको छ ।
यसैगरी नेसनल टेलिभिजनका तत्कालीन सञ्चालक भुवनेश्वरप्रसाद कुशवाहलाई ५ करोड २ लाख ५० हजार रुपैयाँ बिगो कायम गरेर (बिगोको हकमा मात्रै) मुद्दा दायर गरिएको छ । गैरकानुनी सम्पत्ति जफत प्रयोजनका लागि अन्सारीकी पत्नी सलमा खातुन र अर्मी महिला प्रमिला अधिकारीलाई पनि सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको छ ।
अन्सारी र उनकी पत्नीका नाममा राखिएका स्रोत नखुलेको घरजग्गा पनि जफत गर्नुपर्ने अभियोगपत्रमा उल्लेख छ । यसमध्ये अन्सारीको परिवारका नाममा पर्सामा भेटिएको २ बिघा, १३ कठ्ठा ८ धुर जग्गा पनि जफत गर्न मागदाबी लिइएको छ ।
यस्तै, अन्सारीका नाममा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, ग्लोबल आइएमई, प्रभू, सानिमा र माछापुच्छ्रे बैंकमा रहेको १५ लाख ५० हजार २ सय ९ रुपैयाँ नगद पनि जफत गर्नुपर्ने अदालतमा दायर अभियोगपत्रमा उल्लेख छ ।
अन्सारी भारतीय जाली नोटको ओसारपसारमा संलग्न रहेको अभियोगमा ६ वर्ष कैद सजाय भुक्तान गरी १७ जेठ २०८२ मा ललितपुरको नख्खु कारागारबाट छुटेका थिए । छुटेलगत्तै सीआईबीले पक्राउ गरी उनीविरुद्ध सम्पत्ति शुद्धीकरण आरोपमा अनुसन्धान गरेको थियो ।