Mero Chitwan
माछा मार्न जाँदा गोहीको आक्रमणबाट रत्ननगरका युवकको मृत्यु

चितवन —चितवनको रत्ननगरमा गोहीको आक्रमणबाट एक युवकको मृत्यु भएको छ । रातको समयमा सौराहा नजिक चित्रसारी बुढीराप्ती खोलामा  रत्ननगर नगरपालिका–८ का २६/२७ वर्षीय अविषेक माझीको मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनएको छ । 

अविषेक र सोही ठाउँका ४०/४५ वर्षीय राजकुमार माझी बिहीबार राति ९ बजेतिर माछा मार्न बुढीराप्ती खोलामा गएका थिए । माछा मार्दै गर्दा अविषेकलाई गोहीले तानेर खोलामा लगेको जानकारी राजकुमारले अस्थायी प्रहरी पोस्ट मैनाहालाई दिएका थिए ।

राति ९ बजेर ३५ मिनेटतिर खबर प्राप्त भएलगत्तै मैनाहा र रत्ननगर इलाका प्रहरी कार्यालयको टोली खोजी तथा उद्धारमा खटिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र खनालले बताए । राति १ बजेर २० मिनेटमा घटनास्थलभन्दा २०० मिटर उत्तरतर्फ माझीको शव फेला परेको हो ।

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  ०७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update