Mero Chitwan
पतन्जलि जग्गा प्रकरण : पूर्वप्रधानमन्त्री नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौँ — पतञ्जलि जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले बुधबार यस्तो आदेश दिएको हो ।

विशेष अदालतमा पूर्वप्रधानमन्त्री नेपाल लगायतविरुद्धको भ्रष्टाचारसम्बन्धी मुद्दामा बुधबार थुनछेक बहस भएको थियो । पूर्वप्रधानमन्त्री नेपाल विशेष अदालतमा उपस्थित भएपछि अपराह्नदेखि उनीसँग बयान लिइएको थियो । त्यसपछि दुवै पक्षका वकिलहरूले थुनछेक बहस गरेका विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।

उनका अनुसार न्यायाधीशहरू तेजनारायण सिंह, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा नेपालका तर्फबाट पाँच र सरकारी पक्षबाट पाँच जना वकिलले बहस गरेका थिए । पतञ्जलि योगपिठको हदबन्दी जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित ९३ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । आरोपपत्रमा पूर्वप्रम नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

विगतमा पतञ्जलि योगपीठको जग्गा खरिदमा हदबन्दी छुटको निर्णय गरेर अनियमितता गरेको आरोपपत्र विशेष अदालतमा दर्ता भएको हो ।

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  २१:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update