Mero Chitwan
पतञ्जलि जग्गा प्रकरण : पूर्वप्रधानमन्त्री नेपाल विशेष अदालतमा उपस्थित

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज विशेष अदालतमा उपस्थित हुनु भएको छ । पतञ्जलि जग्गा प्रकरणमा आफूविरुद्धको मुद्दाको सिलसिलामा उहाँ उपस्थित हुनु भएको हो ।

बुधबार सुरु भएको बयान छिटोछरितो रुपमा टुंग्याउने नेपाल निकट कानुन व्यवसायीहरुको योजना छ । बयान सकिएलगत्तै थुनछेक बहस हुनेछ । जहाँ नेपालका कानुन व्यसायीहरुले उहाँलाई साधारण तारेखमा छाडेर मुद्दाको प्रक्रिया अगाडि बढाउनुपर्ने जिकिर गर्ने बताइएको छ ।

सरकारी वकिलले भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाको प्रतिरक्षा गर्नेछन् । पतञ्जलि जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा पूर्वप्रधानमन्त्री नेपालविरुद्ध गत जेठ २२ गते विशेष अदालतमा मुद्दा दर्ता भएको थियो ।

पतञ्जलि योगपीठले जडीबुटी खेती र आयुर्वेद अस्पताल निर्माणका लागि हदबन्दी छुटमा जग्गा खरिद गरेको थियो । तत्कालीन सरकारको निर्णयबाट हदबन्दी छुटमा पाएको जग्गा पछि मन्त्रिपरिषद्‍कै निर्णयबाट बिक्री गरेको भेटिएपछि अख्तियारले छानबिन थालेको हो ।

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  १२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update