Mero Chitwan
१७ वर्षपछि दार्जिलिङका बद्री, दुर्गा खरेल फेरि पलेँटीमा

काठमाडौं-हरेक अंग्रेजी महीनाको अन्तिम शुक्रवार नेपालयको 'आर'सालामा आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रम पलेंटीमा यस पटक दार्जिलिङ्का प्रसिद्ध साङ्गीतिक जोडी बद्री,दुर्गा खरेल प्रस्तुत हुने भएका छन् ।

पलेँटी कार्यक्रम २० वर्ष पहिलेदेखि सञ्चालन हुँदै आएको लघु साङ्गीतिक कार्यक्रम हो ।

यस महिनाको कार्यक्रमका निम्ति यस जोडीले आफ्ना सुप्रसिद्ध गीतहरूका साथै गीतकार दिनेश अधिकारीका नयाँ शब्दमा धुन भरेर ल्याएका छन् । जसलाई बद्री, दुर्गाका साथ पलेँटीकी अभिज्ञा घिमिरेले आफ्नो स्वरमा सजाउने छन् । यस कार्यक्रमलाई पुरानो र नयाँ पुस्ताको मिलन बिन्दूको रुपमा पनि लिन सकिन्छ ।

बद्री, दुर्गा दार्जिलिङको नेपाली साङ्गीतिक जगतमा मात्र नभएर सम्पूर्ण नेपालीभाषी श्रोता बीच स्थापित नाम हो । खासगरी यो जोडीको सृजना- 'बोलाउँ भने तिमीलाई बात लाग्ने डर' लाई नेपाली जगतले आजसम्म पनि उत्तिकै रुचाएको पाइन्छ ।

दार्जिलिङकै स्वर-शिल्पी दावा ग्याल्मोले गाएको 'शुभकामना खाली खाली' पनि यही सङ्गीतकार जोडीको अर्को सृजना हो । मन बहादुर मुखियाको नाटक 'अनि देउराली रुन्छ'को चर्चित गीत 'सारङ्गीको तारले मेरो मनको गीत गाउछ' दार्जिलिङमा मञ्चन हुँदा यही जोडिका दुर्गा खरेलले प्रत्यक्ष गाएका थिए । रेडियो नेपालमा रेकर्ड गर्ने मौका भने गायक कुमार सुब्बाको भागमा पर्‍यो र उनलाई नेपाली गायन जगतमा लोकप्रियता प्रदान गर्‍यो । 

यसपालीको पलेँटी बारे कार्यक्रम संयोजक आभास भन्छन्- 'पुराना साङ्गीतिक कर्मीहरूलाई नयाँ सृजनाका निम्ति झकझकाउनु पर्छ भन्ने उदेश्य पलेँटीले लिएको छ । त्यही भएर यसपालीको पलेँटीलाई आंशिकरुपमा गीतकार दिनेश अधिकारीसँग सङ्गीतकार बद्री, दुर्गा खरेललाई जोड्ने चाँजो मिलाएका हौं ।'

पहिलो पल्ट सन् २००८ मा पलेँटी कसेका दुर्गा खरेल भन्छन्- 'लामो अन्तरालपछि आफ्नो साङ्गीतिक कर्मथलोमा आउन पाउँदा एकदमै आनन्दित भएका छौं । साङ्गीतिक क्षेत्रबाट फेरि ओझेल परियो कि कसो भनी सोचिरहेको बेला पाएको यो मौकाले आफ्नो सङ्गीतकर्मप्रति झन् विश्वास जगाएको छ ।' खुसी व्यक्त गर्दै उनले हार्मोनियमका पर्दामाथि आफ्ना औंलाहरू कुदाए ।

सन् २००८ मै पहिलोखेप पलेँटीमा आएका बद्री खरेल भन्छन्- 'पहिलोपाली पलेँटीमा आउँदा त यो कार्यक्रमका बारेमा अनभिज्ञ थियौं । फेरि लामो समय बाद यता आएका छौं । पहिले जस्तै गीत, सङ्गीतप्रेमीको माया पाउनेमा विश्वस्त छौं ।'

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  ०८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update