
काठमाडौै । गएराति कपिलवस्तुमा सबैभन्दा धेरै पानी परेको रेकर्ड भएको छ । लुम्बिनीको कपिलवस्तुस्थित भगवानपुरमा सबैभन्दा धेरै १०६.८ मिलिमिटर वर्षा भएको हो । यो गत ६ घण्टाको वर्षा रेकर्ड हो ।
यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भएको छ । गोरखास्थित गोरखा एग्रोमेट केन्द्रमा १०३ र बागमतीको चितवनस्थित चर्चरे केन्द्रमा १०१.४ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । चितवनको गोबिन्द बस्ती, दाङको रङसिङ र लालमटियामा केन्द्रमा पनि भारी वर्षा मापन भएको छ ।
झापाको दमक, रौतहटको रजुवा, सप्तरीको रुपनीबजार, नवलपरासीको देउराली, सुर्खेत विमानस्थल र सुर्खेतकै रातानाङ्ला स्टेसनमा पनि भारी वर्षा मापन गरिएको छ ।
आज देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागको केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । वर्षाका कारण खहरे र नदीहरुमा बाढी आउनसक्ने र राजमार्गहरुमा यात्रा गर्दा सतर्कता अपनाउनसमेत विभागले आग्रह गरेको छ ।