
चितवन । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८२/८३ का लागि ५ अर्ब १९ करोड ७१ लाख ६६ हजार रुपैयाँ बजेट पेस ल्याएको छ ।
महानगर उपप्रमुख चित्रसेन अधिकारीले नगरसभाको १७ औं अधिवेशनमा बजेट पेस गरेका हुन् । महानगरले यस वर्ष चालू आर्थिक वर्षको भन्दा कम बजेट ल्याएको हो । गत वर्ष भरतपुरले ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रुपैयाँको बजेट ल्याएको थियो ।
चालु आर्थिक वर्षमा १ अर्ब ८० करोड रुपैयाँ आन्तरिक आय गर्ने लक्ष्य राखिएको थियो । तर जेठ मसान्तसम्म १ अर्ब १५ करोड रुपैयाँ आन्तरिक आय भएको र असार मसान्तसम्म १ अर्ब ५० करोड रुपैयाँ पुग्ने अनुमान रहेको अधिकारीले बताए ।
चालु आर्थिक वर्षमा जेठ मसान्तसम्म पुँजीगततर्फ ३८ प्रतिशत र चालुतर्फ ६९ प्रतिशत गरी समग्रमा कुल ५३ प्रतिशतको हाराहारीमा मात्रै बजेट खर्च भएको नगरसभामा उपमेयर चित्रसेन अधिकारीले जानकारी दिए ।