
काभ्रे। वर्षायाम सुरु भएसँगै काभ्रेपलाञ्चोक भएर पूर्वी पहाडी तथा तराईका जिल्ला जोड्ने विपी राजमार्ग रातको समयमा बन्द गरिने भएको छ ।
काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुलीका सुरक्षा प्रमुखको बैठकले शनिवार साँझदेखि लागू हुने गरी रातका समयमा यात्रुवहाक र निजी सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।
काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले शुक्रबार सिन्धुलीको खुर्कोटमा बसेको अन्तर जिल्ला सुरक्षा समन्वय समितिको बैठकले शनिवार साँझदेखि लागु हुने गरी साँझ ६ः३० बजेदेखि बिहान ५ बजेसम्म विपी राजमार्गमा यात्रुवहाक सवारी र निजी सवारी साधन सञ्चालनमा रोक लगाइएको बताए ।
वर्षासँगै विपी राजमार्ग भएर बहने रोसी खोलामा आउन सक्ने बाढीले पुर्याउन सक्ने क्षतिलाई मध्यनजर गरेर रातको समयमा भाडा र निजी सवारी सञ्चालनमा रोक लगाएको प्रशासनले जनाएको छ ।
गत असोजको बाढीका कारण पूर्णरुपमा क्षति भएको विपी राजमार्ग अस्थायी रुपमा सञ्चालन भएकाले वर्षासँगै आउने बाढीले थप क्षति नपुर्याओस् भनेर अन्तर जिल्ला सुरक्षा समन्वय समितिको बैठकले पहिलो चरणमा १५ दिनका लागि उक्त निर्णय गरेको हो । असोज दोस्रो साताको अविरल वर्षाका कारण विपी राजमार्गको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको खुर्कोटसम्मको सडकमा क्षति पुगि जोखिम बढेको छ।