Mero Chitwan
पाकिस्तानी महिलाका कारण रोकिएको  बाराका नाका  बल्ल खोलिए

रौतहट : लामो समयपछि बारासँग जोडिएको साना सीमा नाकाहरूबाट चार पाङ्ग्रे सवारी साधन चल्ने सहमति भएको छ।  पाकिस्तानी महिला सीमा हैदर  स्थलमार्ग हुँदै भारत गएदेखि भारतीय सुरक्षाकर्मीले बारा नाकाबाट चार पाङ्ग्रे सवारी साधन आवतजावतमा रोक लगाएका थिए । 

तर, तीन दिनअघि भारतीय सुरक्षाकर्मी एसएसबीको प्रधान कार्यालयले निर्णय गरेपछि बारासँग जोडिएका तीनवटा साना नाकाबाट चार पाङ्ग्रे गाडी चल्ने अनुमति दिइएको छ। तर, रौतहटसँग जोडिएको कुनै पनि नाका बाट गाडी आवतजावतको लागि हालसम्म अनुमति दिइएको छैन।

बाराको ककोर्वा हुँदै भारतको झरोखर घोडासन, बाराको मटिअर्वा सन्तगन्ज,महुअवा कटगेनवा अदापुर नाकाबाट गाडी आउने जाने अनुमति दिएको भारत बिहार मोतीहारी जिल्लाका एसपी कान्तेश मिश्राले बताएका छन्।

एसपी मिश्राले रौतहटको सानो नाकाबाट गाडी आवतजावतबारे छलफल भइरहेको जानकारी दिएका छन्।

रौतहटका सिडिओ हिरालाल रेग्मीले रौतहटको साना नाका खोल्ने निर्णयबारे आफूलाई जानकारी नभएको र यसबारे भारतीय समकक्षीसँगको बैठकमा प्रस्ताव राखेर पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

कोरोना महामारीपछि सधैंको जस्तो गाडी मोटरसाइकल तथा अन्य सवारीसाधन आवतजावतमा कुनै समस्या थिएन, सीमाक्षेत्रका मानिस सहजरुपमा वारुपारी आउने गरेका थिए। तर, पछिल्लो समय भारतीय सिमानामा खटिएका एसएसपीले चार पाङ्ग्रे सवारीसाधन आउजाउमा रोक लगाएका थिए।

माथिको आदेश भन्दै उनीहरुले रौतहटको सदरमुकाम गौर हुँदै भारतीय बजार बरागिनिया अथवा वीरगंज हुँदै रक्सौल भएर मात्र आउनजान दिएका थिए।


 

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update