
काठमाडौं । अमेरिकाले एमसीसी परियोजनालाई निरन्तरता दिने भएको छ । अमेरिकी दूतावासले बुधबार प्रेस विज्ञप्ति जारी गरी यस्तो जानकारी दिएको हो ।
विज्ञप्तिकाअनुसार गत फेब्रुअरीमा ९० दिनका लागि स्थगन गरिएको एमसीसी अब पूर्ण कार्यान्वयन गर्न अनुमति दिइएको छ ।
एमसीसीअन्तर्गत ३ सय १५ किलोमिटर लामो चार सय केभी क्षमताको प्रसारण लाइन तथा तीन वटा सबस्टेसन निर्माण गर्ने योजना छ । त्यस्तै सडकतर्फ पूर्व-पश्चिम राजमार्गको धानखोला-लमही ४० किलोमिटर लामो सडक खण्डको मर्मतसम्भार गर्ने योजना छ ।
हालैमात्र बसेको मन्त्रिपरिषद् बैठकले ४ सय केभी प्रसारणलाइन आयोजना निर्माणका लागि नवलपरासी अर्थात् वर्दघाट सुस्ता पश्चिम, सुनवल नगरपालिका, रामग्राम नगरपालिका र बर्दघाट नगरपालिकामा रहेको राष्ट्रिय वनको ४ दशमलव छ-छ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको बुधबार सञ्चारमन्त्री पृथ्वीसुव्वा गुरुङले जानकारी दिएका छन् ।