Mero Chitwan
रत्ननगरमा असार २ देखि ६ गतेसम्म ‘टोल-टोलमा सामाजिक सुरक्षा भत्ता सचेतना’ अभियान

रत्ननगर : रत्ननगर नगरपालिकाले सतप्रतिशत घटना दर्ता अभियानअन्तर्गत विपन्न तथा सिमान्तकृत समुदायलाई लक्षित गरी ‘टोल टोलमा सामाजिक सुरक्षा भत्ता सचेतना कार्यक्रम’ सञ्चालन गर्ने भएको छ। यो कार्यक्रम असार २ गतेदेखि ६ गतेसम्म नगरपालिकाका विभिन्न वडाहरूमा सञ्चालन हुनेछ।

कार्यक्रमको पहिलो दिन असार २ गते वडा नम्बर १३ को प्रेमवस्ती र रामजानकी टोल विकास संस्थामा बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ। नगरपालिकाले सम्बन्धित टोल विकास संस्थाहरूलाई कार्यक्रमको प्रचार-प्रसार गरी स्थानीयको सहभागिता सुनिश्चित गर्न र उचित वातावरण तयार गर्न समन्वय गर्न अनुरोध गरेको छ।

नगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखा प्रमुख रामप्रसाद बस्ताकोटीका अनुसार, यो अभियान असार २ गतेदेखि लगातार विभिन्न वडाहरूमा सञ्चालन हुनेछ। असार २ गते वडा नम्बर १३ मा कार्यक्रम सम्पन्न भएपछि असार ३ गते वडा नम्बर १२ को सालघारी टोलमा आयोजना हुनेछ। त्यस्तै, असार ४ गते वडा नम्बर ४ को बगैचा टोल, चौधरी मिलन टोल र भोकाहा टोलमा कार्यक्रम सञ्चालन हुनेछ। असार ५ गते वडा नम्बर ६ को ओदराई टोल र दोरङ्गी टोलमा र अन्तिम दिन असार ६ गते वडा नम्बर ३ को नमूना टोलमा कार्यक्रम सम्पन्न गरी सचेतना अभियानको समापन गरिनेछ।

यो कार्यक्रमले विपन्न तथा सिमान्तकृत समुदायलाई सामाजिक सुरक्षा भत्ताको महत्त्व, पञ्जीकरण प्रक्रिया र अन्य सम्बन्धित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ। नगरपालिकाले स्थानीय टोल विकास संस्थाहरूसँगको सहकार्यमा कार्यक्रमलाई प्रभावकारी बनाउन समन्वय गरिरहेको छ।

‘यो अभियानले सामाजिक सुरक्षा भत्ताको पहुँच वृद्धि गर्न र सिमान्तकृत समुदायलाई सचेत गराउन महत्त्वपूर्ण भूमिका खेल्नेछ,’ बस्ताकोटीले भने। सम्बन्धित वडा कार्यालय र टोल विकास संस्थाहरूलाई कार्यक्रमको जानकारी स्थानीय समुदायमा पुर्‍याउन र सहभागिता सुनिश्चित गर्न अनुरोध गरिएको छ।

प्रकाशित मिति: आइतबार, असार १, २०८२  २३:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update