
काठमाडौं । नेपालमा कोभिड-१९ संक्रमितको संख्या बढ्न थालेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमितहरू बढ्दै गए पनि लक्षण सामान्य देखिएकाले नआत्तिन र सतर्कता अपनाउन मन्त्रालयले सुझाएको छ ।
एक महिनाअघिसम्म एक जनामा मात्र संक्रमण देखिएकामा यसबीच ४२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसमा पनि हाल देशभर २३ जना सक्रिय संक्रमित छन् ।
यीमध्ये एक जनाको टेकु अस्पतालमा उपचार भइरहेको छ भने अरू घरमै आइसोलेशनमा छन् । अहिले सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ । भर्ना भएका संक्रमितलाई पनि डिस्चार्जको तयारी गरिएको टेकु अस्पतालले जनाएको छ ।
अहिले सुदूरपश्चिम, मधेश प्रदेशलगायतका सीमानाकाहरूबाट आउने र काठमाडौंमै रहेकाहरूमा संक्रमण देखिएको छ । भारत हुँदै नेपाल भित्रने शंकास्पद संक्रमितको परीक्षणका लागि सबै नाकामा ६ सय किट पठाइएको मन्त्रालयले जनाएको छ ।
अघिकांश नागरिकले खोप लगाएकाले जोखिम कम हुने मन्त्रालयको प्रक्षेपण छ । यद्यपि, आफूहरू तयारी अवस्थामा रहेको पनि मन्त्रालयको दाबी छ ।
हाल देखिएको संक्रमण ओमिक्रनकै सब-भेरियन्ट रहेको अनुमान गरिए पनि थप परीक्षण गर्न बाँकी रहेको मन्त्रालयले जानकारी दिएको छ । अहिले संक्रमित तथा शंकास्पदलाई घरमै आइसोलेशनमा बस्न समेत मन्त्रालयले अनुरोध गरेका छ ।