Mero Chitwan
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली मध्यरातमा काठमाडौं उत्रिए

काठमाडौँ । अमेरिकाबाट डिपोर्टमा परेका ३७ जना नेपाली मध्यरातमा काठमाडौँ उत्रिएका छन् । अमेरिकी कानुन उल्लंघन गरेको आरोपमा ३२ पुरुष र ५ महिलालाई नेपाल फर्काइएको हो ।

अमेरिकाले ओम्नी एयर इन्टरनेसनलको कल–साइन एन–४८६ ए एक्स जहाजबाट चार्टड गरेर उनीहरुलाई आइतबार मध्यराति फर्काएको हो । यो विमानमा अमेरिकाले भारत र बंगलादेशका नागरिकलाई पनि डिपोर्ट गरेको छ ।

ट्रम्पले दोस्रो कार्यकाल सम्हालेयता एक सय ७७ जना नेपाली डिपोर्टमा परेका छन् । हिजोसम्म एक सय ७७ नेपाली निष्कासनमा परिसकेका छन् ।

यसअघि दुई पटक चार्टर्ड उडानमार्फत् नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएर छाडिएको थियो । अमेरिकी होमल्यान्ड सेक्युरिटी अन्तर्गत इमिग्रेशन एन्ड कस्टम इन्फोर्समेन्ट (आईसीई) को अनुरोधमा अमेरिकास्थित नेपाली दूतावासले उनीहरूको ट्राभल डकुमेन्ट तयार गरी पठाएको हो ।

प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्युरोले डिपोर्टमा परेकाहरुसँग सोधपुछ गरेर सूचना संकलन गर्ने तयारी थालेको छ । यसअघि अमेरिकाबाट डिपोर्टमा परेर फर्केकासँग पनि ब्युरोका अनुसन्धान अधिकारीहरुले सोधपुछ गरेका थिए ।

उनीहरु कसरी अमेरिका पुगे, किन डिपोर्टमा परे र यो घटनामा संगठित मानव तस्करीको भूमिका के छ भनेर ब्युरोले अनुसन्धान गर्दैछ ।

प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  १०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update