
रत्ननगर । रत्ननगर नगरपालिका वडा नम्बर १२ ले आगामी आर्थिक वर्षका लागि नीति, योजना तथा कार्यक्रम सार्वजनिक गरेको छ । वडास्तरीय भेलाको आयोजना गरी वडा कार्यालयले आर्थिक वर्ष २०८२/८३ का लागि नीति, योजना तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
वडाध्यक्ष सुन्दरमणि सुवेदीद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा चोक–चोकमा सिसी क्यामेरा र सार्वजनिक स्थलमा फ्री वाइफाइसहित ९९ वटा योजना सार्वजनिक गरिएको छ ।
नीति तथा कार्यक्रममा गरिब तथा विपन्न परिवारलाई निःशुल्क खानेपानीको धारा जडान, सुत्केरी आमा र नवजात शिशु संरक्षण कार्यलाई निरन्तरता दिँदै वडाभित्र रहेका भूमिहीन सुकुमबासीलाई लालपुर्जा वितरणका लागि सार्थक पहल गर्ने जनाइएको छ ।
महिलाकेन्द्रित आयआर्जनका कार्यक्रम, समुदायको साझेदारीमा एम्बुलेन्स सञ्चालन गर्ने, गरिब तथा विपन्नलाई निःशुल्क स्वास्थ्य बिमा गर्ने, उज्यालो वडा कार्यक्रमलाई प्रभावकारी बनाउने, टोल–टोलमा स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने, नगरप्रमुख उद्यमशीलता विकास कार्यक्रममार्फत युवाहरुलाई आयआर्जनमा जोड्ने योजना रहेको वडाध्यक्ष सुवेदीले बताए ।
त्यसैगरी, दूध उत्पादनको हिसाबले अब्बल रहेको वडामा गाईपालक किसानहरुलाई प्रोत्साहनस्वरुप अनुदानको व्यवस्था गर्ने, वडाभित्रका सार्वजनिक स्थल तथा चोकहरुमा सिसी क्यामेरा जडान गर्ने, सार्वजनिक स्थललाई फ्री वाइफाइ जोन बनाउने, सो वडामा आधारभूत तहको सामुदायिक विद्यालय नभएको कारण विद्यार्थीहरुलाई असुविधा भएकाले पञ्चदीप आधारभूत विद्यालयलाई कक्षा ८ सम्म सञ्चालनको अनुमतिका लागि नगरपालिकामा माग गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
कार्यक्रममा वडा गौरवको योजनासमेत सार्वजनिक गरिएको छ । सिसी क्यामेरा जडान कार्यलाई नगर गौरवको पहिलो नम्बरमा राखेको सो वडाले वडा कार्यालय भवनमा तला थप गर्ने, सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार निर्माण र गुणस्तर सुधारको काम गर्ने, सार्वजनिक जग्गा पहिचान गरी संरक्षणका लागि तारबार गर्ने, सुकुमबासी बस्तीमा नाला निर्माण गर्नेसहित १५ बुँदामा वडा गौरवको योजना सार्वजनिक गरिएको वडा सचिव शंकरबहादुर गिरीले जानकारी दिए ।
सो वडा कार्यालयले संघ, प्रदेश र स्थानीय सरकारको लगानीमा गर्ने ९९ वटा योजना बनाएको छ । संस्थापक वडाध्यक्ष वीरबहादुर पाख्रिनले दीर्घकालीन प्रभाव पर्ने खालका योजना बनाएर काम गर्न आग्रह गरे । शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिँदै पूर्वाधार निर्माणको कामलाई पनि उत्तिकै मह¤व दिएर काम गर्न सके विकास देखिने उनको भनाइ छ ।
कार्यक्रममा वडास्तरीय राजनीतिक दलहरुले पूर्वाधार निर्माण, सीप विकास तथा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्न सुझाव दिएका छन् । नेपाली कांग्रेसका वडा सभापति कृष्ण रेग्मी, नेकपा एकालेकी वडा कमिटी अध्यक्ष निर्मला दंगाल, नेकपा माओवादी केन्द्रका मोहन भट्टराई, रास्वपाका वडा सभापति प्रसाद श्रेष्ठले टुक्रे योजनाभन्दा वडावासीले विकासको अनुभूति गर्ने खालका ठूला योजना बनाउन सुझाव दिए ।
सामाजिक अगुवाहरु दीपबहादुर भण्डारी, भीमसेन पौडेल, पञ्चकन्या सामुदायिक वनका अध्यक्ष कृष्ण बगालेलगायतले सुझाव दिएको कार्यक्रममा वडा सदस्य तथा कार्यपालिका सदस्य चन्द्रकला पनेरु, सुस्मिता विक, वडा सदस्यहरु रामप्रसाद पाण्डे, किसान बजगाईंसहित टोल विकास संस्था, आमा समूह, सामुदायिक वन, विद्यालयका प्रतिनिधिहरु सहभागी थिए ।
वडा सचिव गिरीले सञ्चालन गरेको उक्त कार्यक्रम वडाध्यक्ष सुवेदीको अध्यक्षतामा भएको थियो ।