Mero Chitwan
कमल थापा र दीपक सिंहसहित ७ जना रिहा

काठमाडौं– आइतबार दिउँसो प्रहरी नियन्त्रणमा परेका राप्रपा, नेपालका अध्यक्ष कमल थापा, राप्रपा सांसद दिपक सिंहसहित ७ जना रिहा भएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार नियन्त्रणमा लिइएका ८ मध्ये ७ जनालाई जिम्मा जमानीमा छाडिएको हो ।

पक्राउ परेकामध्ये एक जना भने हिरासतमै छन् । उनले मापसे सेवन गरी अपशब्द बोलेका कारण रिहा नगरेको प्रहरीले जनाएको छ । 

यसैबीच, राप्रपाले जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट काठमाडौंका तीन क्षेत्रबाहेक अन्यत्र प्रदर्शन गर्न नपाउनेगरी आदेश जारी गर्ने निर्णय भएकोप्रति आपत्ति जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आइतबार साँझ काठमाडौंको कोटेश्वर आकाशे पुलदेखि बालकुमारी क्षेत्र, बल्खु क्षेत्र र सिफल चौरमा मात्रै प्रदर्शन गर्न आदेश जारी गरेको थियो ।

उक्त निर्णयप्रति आपत्ति जनाउँदै राप्रपाले तत्काल आदेश फिर्ता लिन आग्रह गरेको हो ।

‘हामी सरकारको यस कदमको घोर विरोध गर्दछौं र सरकारको उक्त आदेश तत्काल फिर्ता लिन आग्रह गर्दछौं । सरकारको यस निर्णय नेपाली जनालाई किमार्थ स्वीकार्य छैन,’ पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

दुई तिहाईको सरकारले इतिहासमा नै नयाँ कीर्तिमान राख्ने गरी काठमाडौं महानगर क्षेत्रलाई नै निषेधित क्षेत्र तोक्ने हास्यास्पद निर्णय गरेको राप्रपाको ठहर छ ।

‘सरकारको यस निर्णय घोर अलोकतान्त्रिक, सर्वसत्तावादी, गैर संवैधानिक र पराजित मानसिकताको उपज रहेको राप्रपाको ठहर छ । सरकारको यस निर्णयबाट शान्तिपूर्वक बिना हातहतियार भेला हुन पाउने, आफ्नो विचार राख्न पाउने र राजनैतिक दलले निर्वाध रूपमा राजनीतिक गतिविधि गर्न पाउने संविधान प्रदत्त अधिकारको गम्भीर उल्लंघन गरेको छ,’ राप्रपाको निर्णयमा भनिएको छ ।

 

प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  २२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update