Mero Chitwan
सशक्त सन्देश बोकेको कृति : डायरीज इन ग्लोबल हेल्थ–अ साउद्रन पर्सपेक्टिभ

डा. बिपिन अधिकारीद्वारा लिखित “Diaries in Global Health – A Southern Perspective” पुस्तक पढ्ने अवसर मलाई हालै प्राप्त भयो । बिपिनको फेसबुकमार्फत्  यस कृतिको पहिलो सार्वजनिक जानकारी देखेपछि नै यो पुस्तक पढ्ने उत्सुकता जागेको थियो ।

सोही क्रममा भैरहवामा रहँदा बिपिनका निकट मित्र डा. विशाल जोशीमार्फत्  यो पुस्तक हातमा पर्नु सुखद संयोग रह्यो । घर तथा अन्य स्थानमा फुर्सदका क्षणहरूमा क्रमशः पढ्दै जाँदा केही समय लागे तापनि, पुस्तकले प्रस्तुत गरेको विचार–यात्रा अत्यन्तै रोचक, प्रेरणादायी र चिन्तनशील अनुभूति दिलाउने खालको रह्यो ।

डा. अधिकारीले आफ्नो औपचारिक शिक्षा २०४५ (सन् १९८८) सालमा रुपन्देही जिल्लाको सखुवानीस्थित एउटा सानो गाउँको विद्यालयबाट सुरु गर्नु भएको हो । खुला दिसामुक्तिको अवधारणा समेत नपुगेको ग्रामीण परिवेश-जहाँ उहाँको आफ्नै घरपरिवार समेत यस यथार्थबाट अछुतो थिएन- मा हुर्कँदा उहाँले सानैदेखि सार्वजनिक स्वास्थ्यका कठोर यथार्थहरू प्रत्यक्ष अनुभव गर्नु भयो । ती जीवन्त अनुभवहरूले उहाँको सोच, दृष्टिकोण र मूल्यबोधलाई गहिरो रूपमा प्रभावित गर्‍यो भन्ने कुरा पुस्तकका विभिन्न प्रसङ्गहरूमा स्पष्ट देखिन्छ । सायद यही पृष्ठभूमिले उहाँलाई चिकित्साशास्त्रलाई सामाजिक परिवर्तनको माध्यमका रूपमा रोज्न प्रेरित गर्‍यो । निरन्तर शैक्षिक यात्रापछि उहाँले सन् २००७ मा चीनबाट एमबीबीएस उपाधि हासिल गर्नु भयो ।

चिकित्सा शिक्षा पूरा गरेपछि डा. अधिकारीले नेपालमै चिकित्सकका रूपमा आफ्नो व्यावसायिक यात्रा आरम्भ गर्नुभयो । त्यसपछि क्रमशः उहाँको यात्रा अन्तर्राष्ट्रिय जनस्वास्थ्य क्षेत्रमा लामो र विशिष्ट दिशातर्फ अग्रसर भयो । विभिन्न प्रतिष्ठित गैरसरकारी संस्था तथा अन्तर्राष्ट्रिय निकायहरूसँग सहकार्य गर्दै उहाँले आफ्नो अधिकांश कार्यक्षेत्र ग्लोबल साउथका मुलुकहरूमा केन्द्रित गर्नुभयो । थाइल्यान्ड, कम्बोडिया तथा अफ्रिकी महादेशका दक्षिण सुडान, तान्जानिया र केन्याजस्ता देशहरूमा—विशेषतः द्वन्द्वग्रस्त र स्रोतसाधन न्यून रहेका क्षेत्रमा—कार्य गर्दै उहाँले कमजोर स्वास्थ्य प्रणाली र सीमान्तकृत समुदायहरूको जीवन–यथार्थलाई नजिकबाट बुझ्ने महत्वपूर्ण अवसर प्राप्त गर्नुभयो ।

यससँगै, उच्च शिक्षा, अध्ययन तथा निरन्तर अन्तर्राष्ट्रिय भ्रमणका माध्यमबाट डा. अधिकारीले ग्लोबल नर्थका स्वास्थ्य दृष्टिकोणहरूबारे पनि गहिरो ज्ञान आर्जन गर्नुभएको छ । हाल उहाँ अक्सफोर्ड विश्वविद्यालयसँग आबद्ध रहँदै अन्तर्राष्ट्रिय स्तरका मलेरिया नियन्त्रणसम्बन्धी अनुसन्धान परियोजनाहरूमा संलग्न हुनुहुन्छ । यसरी, ग्लोबल साउथका जीवन्त अनुभव र ग्लोबल नर्थको सैद्धान्तिक तथा संरचनागत ज्ञानको संयोजनले उहाँलाई विश्व स्वास्थ्य अभ्यासलाई आलोचनात्मक दृष्टिले विश्लेषण गर्न सक्षम बनाएको छ ।

यस पुस्तकको मुख्य विशेषता भनेकै विभिन्न देश, संस्कृति र समुदायमा देखिएका जनस्वास्थ्य समस्याहरूको सूक्ष्म र गहिरो अवलोकन हो । डायरी शैलीमा लेखिएका अनुभूतिहरूले गरिबी, खाद्य अभाव, कुपोषण, संक्रामक रोगको प्रकोप तथा समुदाय–आधारित स्वास्थ्य संरचनाको कमजोरीजस्ता ग्लोबल साउथका जटिल यथार्थहरूलाई सशक्त रूपमा उजागर गर्छन् । यसको विपरीत, ग्लोबल नर्थका देशहरूमा देखिने वृद्ध जनसंख्या, मोटोपन, मानसिक स्वास्थ्य समस्या, गैर–संक्रामक रोग तथा स्वच्छ वातावरणसम्बन्धी चिन्ताहरूलाई पनि लेखकले सन्तुलित ढङ्गले प्रस्तुत गर्नु भएको छ ।
डा. अधिकारी ग्लोबल नर्थको चिकित्सकीय ज्ञानलाई अस्वीकार गर्नु हुन्न; तर त्यसको एकाधिकार र सार्वभौमिक प्रयोगप्रति प्रश्न उठाउनु हुन्छ । स्थानीय ज्ञान प्रणाली, आयुर्वेदजस्ता परम्परागत उपचार पद्धति, समुदायको चेतना र सांस्कृतिक संवेदनशीलताको महत्त्वमा उहाँ जोड दिनु हुन्छ । पुस्तकमा समावेश गरिएका घटनाहरूले सांस्कृतिक संवेदनशीलता र जनचेतनाको अभावले कसरी गम्भीर सामाजिक तथा नैतिक द्वन्द्वहरू सिर्जना हुन सक्छन् भन्ने यथार्थलाई स्पष्ट रूपमा उजागर गर्छन् ।

दक्षिण सुडानमा घटेको एउटा घटनाले यस पुस्तकलाई विशेष रूपमा उजागर गर्छ । रगतदानका लागि कुनै वैकल्पिक स्रोत नपाएपछि एक चिकित्सकले आफ्नै शरीरबाट ए–नेगेटिभ रगत दान गरेकी थिइन् । तर जीवन बचाउने उक्त मानवीय कार्यको सट्टा उनलाई समुदायबाट “सेतो मानिसको रगत कालो समुदायमा प्रवाहित गरी वंश बिगारिएको” भन्ने आरोप खेप्नुपरेको थियो । यो घटना जनचेतनाको अभाव र गलत विश्वासले चिकित्साविज्ञानलाई कसरी गम्भीर चुनौती दिन सक्छ भन्ने ज्वलन्त उदाहरण हो ।

डा. अधिकारी जहाँ–जहाँ पुग्नुहुन्छ, त्यहाँका प्रत्येक घटनालाई गहिराइपूर्वक टिपोट गर्दै त्यसलाई विद्यमान चिकित्सकीय अभ्याससँग तुलना गर्नुहुन्छ । विशेषतः ग्लोबल साउथका देशहरूमा कार्य गर्दा उहाँ समुदाय–आधारित दृष्टिकोण, पारदर्शिता, जवाफदेहिता र नैतिक विनम्रतालाई विश्व स्वास्थ्य अभ्यासको मूल आधार मानेर अघि बढ्नुपर्नेमा जोड दिनुहुन्छ । उहाँको लेखनले माथिबाट थोपरिएका, दातृ–केन्द्रित कार्यक्रमहरू र कार्यमोडेलहरूप्रति स्पष्ट आलोचनात्मक दृष्टिकोण प्रस्तुत गर्दछ ।

समग्रमा, “Diaries in Global Health – A Southern Perspective” चिकित्सकहरूका लागि मात्र होइन, गैर–चिकित्सक पाठक, समाजशास्त्री, विकासकर्मी तथा नीतिनिर्माताहरूका लागि पनि अत्यन्तै प्रेरणादायी कृति हो । यसले सामाजिक यथार्थ, जनस्वास्थ्य प्रणाली, स्थानीय ज्ञान तथा वैश्विक शक्ति सम्बन्धको सारलाई सरल तर गहिरो ढङ्गले समेटेको छ ।

पुस्तकको अन्त्यमा डा. अधिकारीले आफ्ना आमाबुवा, दाजुभाइ, दिदीबहिनी, आफन्तजनका साथै साथीहरू, सहकर्मीहरू, प्राध्यापकहरू तथा सम्बन्धित परियोजनाका वरिष्ठ अधिकारीहरूप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ । उहाँको यो विनम्र स्वीकारोक्तिले कृतिलाई अझ मानवीय, आत्मीय र विश्वसनीय बनाएको छ ।

निष्कर्षमा, यो पुस्तक आजको असमान वैश्विक स्वास्थ्य परिवेशमा स्थानीय यथार्थ, नैतिक अभ्यास र समुदायप्रतिको सम्मानमै दिगो समाधान सम्भव हुन्छ भन्ने सशक्त सन्देश बोकेको एक महत्वपूर्ण कृति हो ।
धन्यवाद !

 भरतपुर–११, चितवन

प्रकाशित मिति: शनिबार, फागुन ९, २०८२  २२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update