Mero Chitwan
अफ्ताब आलमले पाए उच्च अदालतबाट पाए सफाइ

काठमाडौं– रौतहटमा भएको बम विस्फोटमा दोषी ठहर भएका नेपाली कांग्रेसका नेता मोहम्मद अफ्ताब आलमलाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले सफाइ दिएको छ । उच्चले जिल्ला अदालत रौतहटको आदेशलाई उल्ट्याएर रिहा गर्न आदेश दिएको हो। 

न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले बुधबार जिल्ला अदालतको फैसला उल्ट्याएको हो ।  जिल्ला अदालत रौतहटको आदेशविरुद्ध उनी उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा पुगेका थिए । 

उक्त इजलासले पनि जिल्ला अदालतको पुर्पक्षका लागि थुनामा राख्‍न दिएको आदेश सदर गरेको थियो । रौतहटको राजपुरमा भएको घटनामा संलग्न रहेका कांग्रेस नेता आलमसहित चार जनालाई जिल्ला अदालत रौतहटले २०८१ वैशाखमा जन्मकैदको फैसला सुनाएको थियो । 

जन्मकैदको सजाय पाउनेहरूमा कांग्रेस नेता आलम, उनका भाइ मोहम्मद महताब आलम, शेख सराज र बद्री सहनी रहेका छन् ।

पहिलो संविधानसभाको निर्वाचनको पूर्वसन्ध्यामा २०६४ चैत २७ गते राति अहिलेको राजपुर नगरपालिकाको फरदवा गाउँमा भएको बम विस्फोटको घटना र त्यसपछि प्रमाण नष्ट गर्न २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा नेता आलम, उनका भाइ मोहम्मद महताब आलम र शेख सराजसहित ११ जनाविरुद्ध ०७६ साल कात्तिक १८ गते मुद्दा दर्ता भएको थियो । सोही मुद्दामा कांग्रेस नेता आलम ०७६ असोज २६ मा पक्राउ परेका थिए ।

अदालतले संकलित प्रमाणबाट आलमको घरमा २०६४/१२/२७ मा बम विस्फोटको वारदात वस्तुनिष्ठ प्रमाणले पुष्टि हुन नसकेको आधार बनाएको छ । यस्तै घाइते भनिएका पिन्टु भनिने त्रिलोकप्रसाद सिंह र ओसी अख्तरलाई ट्याक्टरमा हाली राजा इँटाभट्टामा लगी पोलेको भन्ने ठोस प्रमाण भेटिन नसकेको र विधि विज्ञान प्रयोगशालाबाट पनि मृतकलाई इँटाभट्टामा पोलेको अभियोग लागी पुष्टि हुन नसकेको आधारमा अदालतले आलमलाई रिहा गर्न आदेश दिएको हो । 

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  २२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update