
धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धार्के नजिकै सोप्याङ खोलामाथी रहेको पुलको एकापट्टिको भाग भासिँदा सवारी आवागमन दुईतर्फी अवरूद्ध भएको छ ।
निर्माणाधीन सडकमा पुलको छेउमा नयाँ पुल निर्माणको क्रममा सङ्गै जोडिएको पुरानो पुलको एकापट्टिको भाग भासिएको हो । पुल भासिएपछि काठमाडौं भित्रने र बाहिरीने सवारी साधन रोकिएका छन ।
नागाढुङ्गा-पिपलामोड क्षेत्रमा कालोपत्रे गर्न दिउँसो ११ : ३० देखि ३ बजे सम्म सवारी आउजाउ रोकिएपछि धार्के सितापाइला सडकबाट साना सवारी आउ-जाउ गर्ने गरेको थियाे ।
तर, सोप्याङ खोलाको पुल भासिएपछि पृथ्वी राजमार्गबाट काठमाडौं आउ-जाउ गर्ने सवारी पूर्ण रूपमा रोकिएको छ ।
भासिएको पुलमा वैकल्पिक व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा अध्यन भइरहेको निर्माणाधिन सडक आयोजनाले जनाएको छ । काठमाडौं जाने सवारीले अहिले गल्छीबाट नुवाकोट हुँदै छहरे टोखाको सडकलाई वैकल्पिक सडकको रूपमा प्रयोग गर्न सक्ने छन ।