
काठमाडौं । गृहमन्त्री रमेश लेखकले जीवनमा कुनै एउटा मात्रै आर्थिक अनियमितता गरेको प्रमाणित गरे राजनीतिबाटै अलग हुने बताउनुभएको छ ।सिंहदरबारमा शनिबार साँझ सञ्चारकर्मीहरूसँगको कुराकानीमा उहाँले आफूविरुद्ध नियोजित र षड्यन्त्रमुलक ढंगबाट झुटो प्रचारबाजी भइरहेको बताउनुभयो ।
उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको भिजिट भिसाको विषय मात्रै नभई आफ्नो सार्वजनिक र राजनीतिक जीवनमा पनि एउटा मात्रै आर्थिक अनियमितता गरेको कसैले प्रमाणित गरे पदबाट मात्र नभई राजनीतिबाटै अलग हुने बताउनुभएको हो । आफूविरुद्ध प्रश्न उठेकाले १३ गतेको प्रतिनिधि सभामा आफूले समय माग गरेको र त्यही बेला पूरा जानकारी गराउने बताउनुभयो ।
गृहमन्त्री लेखकले भन्नुभयो, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको भिजिट भिसाको विषय मात्रै होइन । मेरो सार्वजनिक जीवनमा, राजनीतिक जीवनमा यदि एउटा मात्रै पनि मैले आर्थिक अनियमितता गरेको कसैले प्रमाणित गर्यो भने, प्रमाणित भयो भने म पदबाट होइन, राजनीतिबाट राजीनामा दिन्छु ।”
गृह मन्त्रालय लाखौंको संख्यामा कर्मचारी रहेको र कर्मचारीमाथि प्रश्न उठ्दा मन्त्रीहरूले राजीनामा दिँदै जान सम्भव नरहेको स्पष्ट पार्नुभयो ।
“गृह मन्त्रालय यत्रो ठूलो मन्त्रालय छ, लाखौं लाख कर्मचारी छ । त्यसमा संवैधानिक निकाय अनुसन्धान गर्नका लागि सक्षम निकायले कुनै पनि बेला कुनै पनि कर्मचारीमाथि अनुसन्धान सुरु गर्नसक्छ । कुनै पनि कर्मचारीका माथि अनुसन्धान सुरु हुँदा सबै मन्त्रीहरूले राजीनामा दिँदै जाने हो ? के त्यही पद्धति बसाउने हो ? त्यो सम्भव छ ? आजसम्म त्यस्तो भएको छ ?”, उहाँले भन्नुभयो ।