Mero Chitwan
दाहसंस्कार गर्न लगेको बालिकाको शव प्रहरी नियन्त्रणमा

संखुवासभा । दाहसंस्कार गर्न लागेको संखुवासभाको भोटखोला गाउँपालिका-४ सिप्प्रङकी ६ वर्षीया बालिकाको शव प्रहरीले नियन्त्रणमा लिएको छ।

बिहीबार खाँदबारी नगरपालिका-३ गुरूङचोकबाट जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) दक्षकुमार बस्नेतको टोलीले एम्बुलेन्ससहित गोपाल तामाङकी ६ वर्षीया छोरी युनिका तामाङको शव नियन्त्रणमा लिएको हो ।

वैशाख ३० गते घरासयी विवादका क्रममा जेठाजु गोपाल तामाङ र भाईबुहारी कल्पना (गुरुङ) तामाङबीच झै-झगडा भएको थियो । झै-झगडाका क्रममा भाईबुहारी कल्पनाले भजिती छोरी युनिकालाई धकेल्दा डिलबाट लडेर गम्भीर घाईते भएकी थिइन् ।

गम्भीर घाइते युनिकाको जिल्ला अस्पताल संखुवासभामा उपचार हुन नसकेपछि थप उपचारका लागि नोबेल अस्पताल बिराटनगर लगिएको थियो । प्रहरीका अनुसार युनिकाको नोबेल अस्पतलमा उपचारका क्रममा जेठ ७ गते बुधबार मृत्यु भएको हो ।

नियन्त्रणमा लिएको शव जिल्ला अस्पताल संखुवासभाको शवगृहमा राखिएको प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले बताए । प्रहरीले गोपालकी भाईबुहारी कल्पनालाई भोटखोला-४ सिप्प्रङबाट पक्राउ गरेर सदरमुकाम खाँदबारी ल्याउँदै गरेको जनाएको छ ।

घटनाको बारेमा मृतकका बुबा गोपाललाई समेत नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  १०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update