Mero Chitwan
हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीको भर्ना रोक्न ट्रम्प प्रशासनको आदेश

एजेन्सी –अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयको विदेशी विद्यार्थीको भर्ना रद्द गरेको छ । अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नोएमले हार्वर्डको विद्यार्थी तथा विनिमय आगन्तुक कार्यक्रमको प्रमाणीकरण तत्काल रद्द गर्न गृह सुरक्षा विभागलाई आदेश दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । 

हाल, विश्वविद्यालयमा अध्ययनरत सबै विदेशी विद्यार्थीलाई अन्य संस्थामा स्थानान्तरण गर्न भनिएको छ । अन्यथा, उनीहरूले देश छोड्नु पर्ने हुन सक्छ ।

 केही दिनदेखि हार्वर्ड र सरकारबीच विदेशी विद्यार्थीहरूसँग सम्बन्धित रेकर्डलाई लिएर विवाद भइरहेको थियो । गृह सुरक्षा विभागले अप्रिलमा हार्वर्डलाई अप्रिल ३० सम्ममा विदेशी विद्यार्थीहरू संलग्न गैरकानूनी र हिंसात्मक घटनाहरूको पूर्ण रेकर्ड उपलब्ध गराउन भनेको थियो । तर, विश्वविद्यालयले उपलब्ध गराएको रेकर्डसँग प्रशासन सन्तुष्ट छैन ।

हार्वर्ड विश्वविद्यालयमा लगभग २७ प्रतिशत बाह्य विद्यार्थीहरू छन् । हाल त्यहाँ लगभग ६ हजार ८०० विदेशी विद्यार्थीहरू अध्ययनरत रहेको बीबीसीले जनाएको छ । 

हार्वर्डले ट्रम्प प्रशासनको कार्यलाई गैरकानूनी भनेको छ । विश्वविद्यालयले एक विज्ञप्तिमा भन्यो, ‘हार्वर्डमा १४० भन्दा बढी देशका विद्यार्थीहरू छन् । हामी अन्तर्राष्ट्रिय विद्यार्थी र विद्वानहरूलाई भर्ना गर्ने हाम्रो क्षमता कायम राख्न पूर्ण रूपमा प्रतिबद्ध छौं ।’

यस आदेशविरुद्ध विश्वविद्यालयले अदालतमा मुद्दा पनि दायर गरेको छ । विश्वविद्यालयले ट्रम्प प्रशासनले राजनीतिक दबाब सिर्जना गरेर शैक्षिक कार्यलाई नियन्त्रण गर्न चाहेको आरोप लगाएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  १०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update