
चितवन-काठमाडौं जोड्ने मुख्य नाका मुग्लिङ-नागढुङ्गा सडकको नागढुङ्गा- पिपलामोड खण्ड जेठ १० गतेदेखि फेरि बन्द हुने भएको छ । पिपलामोड क्षेत्रमा सडक निर्माण र सुधार गर्न भन्दै जेठ १० गतेदेखि २५ गतेसम्म हरेक दिन बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सवारी आवागमन बन्द हुने भएको हो ।
यसअघि विस्तार गरिएको ठाउँमा अहिले कालोपत्रेको काम गर्नु पर्ने भएकाले दिउँसो नै सवारी रोकेर काम गर्नुपर्ने अवस्था भएको आयोजना पूर्वी क्षेत्रका प्रमुख केशव ओझाले बताएका छन् ।
सूचनामार्फत आयोजनाले सो समयमा काठमाडौंबाट बाहिरिने सवारी साधनलाई नागढुङ्गा चेकपोष्ट र काठमाडौं प्रवेश गर्ने सवारी साधनलाई धादिङको खानीखोला बजारमा रोकिने जनाएको छ ।
सो समयमा यात्रा गर्नैपर्ने भए सितापाइला भीमढुङ्गा-रामकोट-धार्के सडक तथा सामाखुसी-टोखा-छहरे-त्रिशुली-गल्छी सडकलाई वैकल्पिक रुपमा प्रयोग गर्न सकिनेसमेत आयोजनाले बताएको छ ।